ठेक्का सम्झौताको अवधि ६० प्रतिशत सकिँदा प्रगति ११ प्रतिशत मात्र छ । आयोजनाले मंगलबार ठेक्का तोडिएकोबारे १५ दिनको समय दिएर अन्तिम सूचना जारी गरेको छ ।
What you should know
काठमाडौँ, सिन्धुली — राष्ट्र्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दुईमध्ये एउटा ठेक्का तोडिएको छ । पटक–पटक ताकेता गर्दा पनि आयोजनाको प्रगति नभएपछि ठेक्का तोडेको जलस्रोत तथा सिँचाइ विभागले जनाएको हो । आयोजनाले मंगलबार ठेक्का तोडिएकोबारे १५ दिनको समय दिएर अन्तिम सूचना जारी गरेको छ ।
आयोजनाको बाँध, विद्युत्गृह लगायतका सिभिल संरचना, गेट, हाइड्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको ठेक्कामा प्रगति नभएको विभागले जनाएको छ । यो आयोजनाको ठेक्का पटेल—रमण जेभीले लिएको छ । पटेल भारतीय निर्माण कम्पनी हो । ठेक्का सम्झौताको अवधि ६० प्रतिशत सकिँदा प्रगति ११ प्रतिशत मात्र छ ।
प्रगति बढाउन निर्माण व्यवसायीले कुनै तदारुकता नदेखाएको, सम्झौताको प्रावधानअनुसार काममा सुधार गर्न सूचना जारी गर्दासमेत त्यसतर्फ कुनै चासो नदिएपछि ठेक्का तोडिएको विभागका महानिर्देशक मित्र बरालले बताए । ‘सुरुङको काम सकिएर परीक्षण पनि गरिसक्यौं,’ उनले भने, ‘तर बाँध निर्माणको ठेक्कामा प्रगति भएन, १५ दिनको समय दिएर ठेक्का तोडिएको हो, उसलाई केही कुरामा प्रस्ट हुन चाहे उक्त समयभित्र पाउनेछ ।’
ठेक्का तोडेर नयाँ ठेक्काका लागि खरिद प्रक्रिया अघि बढाइहाल्ने बरालले जानकारी दिए । ‘आयोजना निर्माणमा ढिलाइ हुनुभएन,’ उनले भने, ‘ठेक्का तोडेपछि नियमअनुसार नयाँ खरिद आह्वानका लागि अहिलेको ठेक्काको अध्ययन र विश्लेषण गरी प्रक्रिया अघि बढाउँछौं ।’
आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल—रमण जेभीले कार्यसम्पादन जमानतबापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफतको प्रक्रियासमेत अगाडि बढाइएको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आयोजना निर्माणमा अस्वाभाविक ढिलाइ देखिएपछि गत ७ असोजमा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमका अनुसार सबै प्रक्रिया पूरा गरेर ठेक्का तोडेको सूचना प्रकाशित गरिएको हो । ‘ठेक्का तोड्न सूचना प्रकाशन गरेको होइन,’ उनले भने, ‘ठेक्का तोडिसकेको जानकारी दिन सूचना प्रकाशन गरिएको हो ।’ निर्माण कम्पनीबाट ठेक्का लिएको लामो समय बित्दा क्याम्प निर्माण, लेबर क्याम्प र पावर हाउस खोस्रिने काम मात्र भएको आयोजनाको भनाइ छ ।
पटेल–रमण जेभीले सुनकोशी नदीमा बाँध निर्माण कार्य ४ वर्ष ७ महिनामा सक्ने गरी २०७९ माघमा १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । कफर ड्याम र केही ढलानबाहेक देखिने काम केही नभएको आयोजनाले जनायो । सुनकोशीको सतहभन्दा १२ मिटरमुनिबाट ढोकाका लागि जग हाल्ने काम भएको थियो । सुनकोशीको सतहमा आएपछि १८ मिटर उचाइमा लगेर पानीलाई सुरुङमा हालिने प्राविधिकहरूले जनाएका छन् ।
सुनकोशीमा करिब ३० मिटर अग्लो र १ सय ५८ मिटर लामो बाँध निर्माण भएपछि १३.३ किलोमिटर लम्बाइको सुरुङमार्फत कमलामाई –२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६.२९ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने रहेको छ । ४९ अर्ब लागत रहेको आयोजनामा हालसम्म १६ अर्ब खर्च भइसकेको छ । आयोजनाको सम्पन्न मिति २०८४ सम्म छ ।
विभागले विभिन्न आयोजनाअन्तर्गत काममा प्रगति नभएका ठेक्काहरू तोड्ने प्रक्रिया पनि सुरु गरेको छ । विभागका महानिर्देशक बरालले महोत्तरीमा नदी नियन्त्रणसम्बन्धी १२ वटा ठेक्का सूचना निकालेर तोडिसकेको जानकारी दिए । त्यस्तै बबई सिँचाइ आयोजनाअन्तर्गत ६ वटा प्याकेजको ठेक्का पनि १५ दिनको सूचना निकालेर तोडेको उनले बताए ।
