नेपाल पाइलट संघका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले भने, ‘यो सहकार्य नेपालका आकाशलाई अझ सुरक्षित बनाउने महत्त्वपूर्ण कदम हो । आइकाओको अंग्रेजी दक्षता प्रत्येक पाइलट र हवाई यातायात नियन्त्रकका लागि अनिवार्य छ। यस सहकार्यमार्फत हाम्रा उड्डयन पेसेवरहरूलाई विश्वस्तरीय क्षमता प्रदान गर्ने लक्ष्य राखेका छौँ ।’
What you should know
काठमाडौँ — नेपालमा उड्डयन सञ्चार तथा सुरक्षा सुधारका लागि नेपाल पाइलट संघ र मेन्टरल्याब नेपालबीच समझदारी भएको छ । सहकार्यअन्तर्गत पाइलट, हवाई यातायात नियन्त्रक र अन्य उड्डयन पेसेवरलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उड्डयन भाषा दक्षता परीक्षा र विशेष अंग्रेजी तालिम प्रदान गरिनेछ ।
उक्त पहलको उद्देश्य नेपालका उड्डयन सञ्चार प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने बनाउनु रहेको जनाइएको छ । यसले पाइलट र हवाई यातायात नियन्त्रकबीच प्रभावकारी, सही र मानकीकृत सञ्चार सुनिश्चित गर्दै उड्डयन सुरक्षा र सञ्चालनमा उत्कृष्टता ल्याउने विश्वास गरिएको छ ।
उड्डयन भाषा दक्षता परीक्षाले उच्चारण, व्याकरण संरचना, शब्दावली, प्रवाह, बुझाइ र अन्तरक्रिया गरी छवटा मुख्य भाषा क्षमताहरूको मूल्यांकन गर्छ । पाइलट र हवाई यातायात नियन्त्रकहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम्तीमा स्तर ४ दक्षता हासिल गर्नु अनिवार्य छ ।
नेपाल पाइलट संघका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले भने, ‘यो सहकार्य नेपालका आकाशलाई अझ सुरक्षित बनाउने महत्त्वपूर्ण कदम हो । आइकाओको अंग्रेजी दक्षता प्रत्येक पाइलट र हवाई यातायात नियन्त्रकका लागि अनिवार्य छ। यस सहकार्यमार्फत हाम्रा उड्डयन पेसेवरहरूलाई विश्वस्तरीय क्षमता प्रदान गर्ने लक्ष्य राखेका छौँ ।’
मेन्टरल्याब नेपालका सहसंस्थापक भानु दवादीले भने, ‘हामी पेसेवरहरूलाई विश्वस्तरीय सिकाइद्वारा रूपान्तरण गर्नेमा विश्वास गर्छौं । पाइलट संघसँगको साझेदारीले उड्डयन सुरक्षा सुनिश्चित गर्न र पाइलट तथा हवाई यातायात नियन्त्रकहरूको सञ्चार क्षमता सुधार्न प्रत्यक्ष योगदान पुर्याउँछ।’
उड्डयन क्षेत्रभन्दा बाहिर मेन्टरल्याब नेपालका विभिन्न क्षेत्रमा क्षमता विकास र अन्तर्राष्ट्रिय सिकाइ पहलहरूमा सक्रिय छ । यसमा कर्पोरेट तालिम, कार्यकारी शिक्षा, विदेश अध्ययन कार्यक्रम र छिट्टै सार्वजनिक हुने गोअकाड सिकाइ व्यवस्थापन प्रणाली पनि समावेश छ, जसले विद्यार्थी र पेसेवरलाई अन्तरक्रियात्मक र मागअनुसार डिजिटल सिकाइ अनुभव प्रदान गर्ने आयजकले जनाएको छ ।
