दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच साझेदारी

चीनको गुइझोउ प्रान्तमा भएको उक्त सम्झौता कार्यक्रमले विश्वव्यापी पर्वतीय पर्यटनको दिगो विकासमा नयाँ सहकार्यको ढोका खोलेको छ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

International Mountain Tourism Federation and Everest Alliance Nepal partner to promote sustainable mountain tourism

What you should know

काठमाडौँ — अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदानका लागि सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

चीनको गुइझोउ प्रान्तमा भएको उक्त सम्झौता कार्यक्रमले विश्वव्यापी पर्वतीय पर्यटनको दिगो विकासमा नयाँ सहकार्यको ढोका खोलेको छ। तीन वर्षका लागि गरिएको सम्झौताअनुसार दुबै संस्थाले पर्वतीय पर्यटनलाई वातावरणमैत्री र समुदायमुखी बनाउन सँगै काम गर्ने भएका छन्।

अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ विश्वकै पहिलो अन्तर्राष्ट्रिय संस्था हो जसले पर्वतीय पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिएको छ। नेपालमा आधारित एभरेस्ट एलायन्सले भने हिमाली क्षेत्रमा दिगो पर्वतारोहण, वातावरण संरक्षण र स्थानीय समुदाय सशक्तीकरणमा काम गर्दै आएको छ।

सम्झौताअनुसार पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा दुबै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन्। 

International Mountain Tourism Federation and Everest Alliance Nepal partner to promote sustainable mountain tourism

पर्वतारोहणमा जिम्मेवार अभ्यास प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सीपमूलक तालिम र नेतृत्व विकासमा जोड दिने योजना पनि समझदारीमा समावेश छ।

सम्झौताअन्तर्गत पर्वतारोही, प्रशिक्षक र प्राविधिक विशेषज्ञबीच आदानप्रदान हुनेछन् भने संयुक्त उद्धार प्रदर्शन, नेतृत्व तालिम तथा सुरक्षा तालिम आयोजना गरिनेछ। 

साथै, अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान, सांस्कृतिक महोत्सव, साहसिक प्रतियोगिता र सम्मेलनहरूमा पनि संयुक्त सहभागिता रहनेछ।

वातावरणीय संरक्षणलाई प्रमुख प्राथमिकता दिँदै दुवै संस्थाले फोहोर व्यवस्थापन, पदमार्ग सरसफाइ र सचेतना अभियान सञ्चालन गर्ने सहमति गरेका छन्। 

जलवायु परिवर्तन, जैविक विविधता र दिगो पर्यटनसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ।

सम्झौता हस्ताक्षर कार्यक्रम अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेल सम्मेलन २०२५ अन्तर्गत सम्पन्न भएको हो। चीनको गुइयाङ सहरमा ‘संस्कृति, पर्यटन र खेलकुदको एकीकरण : उच्च गुणस्तरीय जीवन’ भन्ने नारामा सम्पन्न उक्त सम्मेलनमा ३० देशका झन्डै ३५० प्रतिनिधिको सहभागिता रहेको थियो।

कान्तिपुर

Link copied successfully