जिल्लाका पर्यटकीय क्षेत्रमा स्तरीय होटल थपिने क्रमसँगै लगानी पनि वृद्धि भएको छ ।
What you should know
भैरहवा — रूपन्देहीमा सञ्चालनमा आएका चारवटा पाँचतारे होटलमा १२ अर्बभन्दा बढी लगानी पुगेको छ । पछिल्लोपटक बुटवलमा साढे ३ अर्ब लगानीमा होटल हायात प्लेस सञ्चालनमा आएको छ । यससँगै जिल्लामा पाँचतारे होटलको संख्या चार पुगेको हो ।
जिल्लाका पर्यटकीय क्षेत्रमा स्तरीय होटल थपिने क्रमसँगै लगानी पनि वृद्धि भएको छ । पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलमा पहिलोपटक पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको हो । बुटवल उपमहानगरपालिका–८, कुसुम पथमा १० तले स्तरीय होटल सञ्चालनमा आएको हो ।
बुटवलको राजमार्ग चौराहानजिकै रहेको होटलमा ६ श्रेणीका २ सय ५० जना अट्ने क्षमताका १ सय ९ कोठा छन् । यो होटलको निर्माणसँगै रूपन्देहीको व्यवसायिक घराना यशोदा ग्रुप हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको छ । यसका सञ्चालकमा उद्योगी चुन्नप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी रहेका छन् । यसमा वाणिज्य बैंकको ६५ र ३५ प्रतिशत व्यक्तिगत लगानी रहेको सञ्चालक समिति अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिए ।
होटल २५ कट्ठा क्षेत्रफलमा फैलिएको छ । त्यहाँ पाहुनाका लागि काम, विश्राम र मनोरञ्जनका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ । साथै होटलको वास्तुकलामा शान्ति, आधुनिकता र परम्पराको संयोजन गरिएको छ । होटलभित्र बोधीबृक्षको पातको आकृति, मायादेवी मन्दिरको इँटाको बनावट झल्किने डिजाइन र बुद्ध दर्शनका चार आर्य सत्य झल्किने चार विशेष स्तम्भ रहेका छन् । होटलको स्पा माटोको घर आकारको छ । ‘पाहुनालाई कोठाभित्रै काम, विश्राम र मनोरञ्जनको व्यवस्था मिलाइएको छ,’ अध्यक्ष पौडेलले भने, ‘व्यापार केन्द्रित होटल भए पनि पारिवारिक वातावरण तयार गर्न ध्यान दिएका छौं ।’ होटलमा सभागृहसँगै तीनवटा बहुउद्देश्यीय हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, स्पा, ज्याकुजी रहेका छन् ।
सिद्धार्थ भिलासा
बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको पाँचतारे होटल पवन प्यालेस बिक्री भएपछि नयाँ व्यवस्थापनसहित सञ्चालनमा आउन लागेको छ । भैरहवाका मिष्ठान्न व्यवसायी पवन हलुवाईले साढे दुई अर्ब लगानी गरेर होटल पवन प्यालेस सञ्चालनमा ल्याएका थिए । गत वर्ष हलवाईले यो होटल बिक्री गरेपछि लुम्बिनी हेरिटेज नामकरण गरिएको थियो । केही समय लुम्बिनी हेरिटेज नामबाट सञ्चालन गरेपछि यसको व्यवस्थापनमा अन्तर्राष्ट्रिय समूह प्रवेश गरेको छ । होटललाई पुनःजीवन दिएर व्यवस्थित रूपमा सञ्चालनका लागि अन्तर्राष्ट्रिय आतिथ्य समूह आईएचजी होटल्स एण्ड रिसोर्ट र लुम्बिनी हेरिटेज लिमिटेडबीच गत महिना सम्झौता भइसकेको छ ।
नयाँ व्यवस्थापनका लागि लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्य र आईएचजीका दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल क्राउन प्लाजाका नाममा संचालित यस होटलमा १ सय ४७ कोठा छन् । तीमध्ये ७ वटा स्वीट रहेका छन् । फराकिलो रेस्टुरेन्ट, स्विमिङ पुल, फिटनेस सेन्टर लगायत सुविधा रहेका छन् । व्यवस्थापनको जिम्मा लिएपछि कम्पनीले ८ महिनाभित्र क्यासिनो सञ्चालनमा ल्याउने योजना बनाएको छ । साथै कम्पनीले सन् २०२६ भित्र आईपीओ जारी गर्ने तयारी भइरहेको पनि जनाएको छ ।
जिल्ला सदरमुकाम भैरहवामा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले साढे २ अर्ब लगानीमा सिद्धार्थ भिलासा होटल सञ्चालन गरिरहेको छ । जिल्लाको प्रमुख बेलहिया नाकाबाट करिब चार किलोमिटर दूरीमा रहेको यो होटल बुटवल–भैरहवा व्यापारिक मार्गअन्तर्गत अञ्चलपुरमा रहेको छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यो पहिलो पाँचतारे होटल हो । २६ वर्षअघि कैलालीबाट हस्पिटालिटी यात्रा प्रारम्भ गरेको यस समूहले आफ्नो लगानीमा नयाँ होटल सञ्चालनमा ल्याउनुका साथै अरुको लगानीका होटल व्यवस्थापन गरिरहेको छ ।
नेपाल क्राउन प्लाजा
चार बिघा क्षेत्रफलमा सञ्चालनमा आएको होटलमा अहिले डिलक्स एक्जिक्युटिभ स्वीट, प्रेसिडेन्सियल स्वीट, स्वीट र ७२ वटा डिलक्स गरी चार तहका ८५ कोठा रहेका छन् । ग्रुपका अध्यक्ष चिन्तामणी न्यौपानेका अनुसार होटलले छिट्टै क्यासिनो पनि सञ्चालनको तयारी गरेको छ । होटलमा सभागृह, तीनवटा सेमिनार हल, लवी लाउन्ज, अल डे डाइनिङ, रूफटप रेस्टुरेन्ट, स्वीमिङ पुल, फिटनेस, जिम हल, स्पा, हेल्थ क्लब र लङ टेनिस कोर्ट रहेका छन् ।
पाँच अर्ब रुपैयाँ वैदेशिक लगानीमा ८ वर्षअघि सञ्चालनमा आएको टाइगर प्यालेस रिसोर्ट लुम्बिनी प्रदेशकै पहिलो पाँचतारे होटल हो । तिलोत्तमा–१५ मा सञ्चालनमा रहेको रिसोर्टमा क्यासिनो पनि सञ्चालन छ । सञ्चालनको केही समयपछि व्यावसायिक साझेदारबीच मनमुटावका कारण लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले रिसोर्ट बन्द गरेको थियो । त्यसको केही समयै विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीको समूह हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले रिसोर्टको स्वामित्व खरिद गरेर ‘टाइगर इज व्याक’ नारासहित सञ्चालनमा ल्याएको हो ।
हायात प्यालेस होटल
अहिले यसको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । यसको नाम टाइगर प्यालेस बाई सोल्टी राखिएको छ । रिसोर्टमा एक सय हाराहारी विभिन्न श्रेणीका कोठा रहेका छन् । नेपालमै ठूलो स्विमिङ पुल रहेको छ । अहिले रिसोर्ट अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा चर्चित छ । साथै भारतीय पर्यटकको रोजाइ बनेको रिसोर्टका जनरल म्यानेजर अग्निमित्र शर्माले बताए ।
