नेप्सेमा झिनो अंकको सुधार, बढ्न सकेन कारोबार रकम

मंगलबार कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्यो, १०२ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

NEPSE sees slight improvement, trading volume fails to increase

What you should know

काठमाडौँ — अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेमा मंगलबार सामान्य सुधार देखिएको छ । मंगलबार ३.२१ अंकको सुधारसहित नेप्से २ हजार ५ सय ६५.१६ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१२ प्रतिशतको सुधार हो । 

सो दिन कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्यो, १०२ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी कम भएपछि समग्र नेप्सेमा सामान्य सुधार आएको हो । सो दिन कुल ५५ हजार ६ सय ३२ पटकको सेयर कारोबारमा ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । सोमबार ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, फाइनान्स कम्पनी, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्यको परिसूचक घटे । बाँकी सबै उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।

सो दिन बैंकिङ उपसमूहको परिसूचक ०.०७, जलविद्युत्को ०.७७, जीवन बिमाको ०.५७, उत्पादन तथा प्रशोधनको ०.३३, सामूहिक लगानी कोषको ०.२४, निर्जीवन बिमाको ०.५० र व्यापारको ०.६९ प्रतिशतले बढे । तर, विकास बैंक उपसमूहको परिसूचक ०.४७, फाइनान्स कम्पनीको ०.६१, होटल तथा पर्यटनको ०.३८, लगानीको ०.२९, लघुवित्तको ०.०५ र अन्यको परिसूचक ०.६७ प्रतिशतले घट्यो । 

नेप्से सामान्य बढे पनि एकै दिन सेयर बजारको आकार कुल बजार पुँजीकरण ५ अर्ब रुपैयाँले विस्तार भएको छ । सोमबार ४२ खर्ब ९१ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ४२ खर्ब ९६ अर्ब रुपैयाँ कायम भएको छ । मंगलबार कारोबार रकमका आधारमा साहस ऊर्जा लिमिटेड सबैभन्दा अघि छ । यो कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

मंगलबार साइन रेसुंगा विकास बैंकको ऋणपत्र र बन्दीपुर केवलकारको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतका दरले बढेको छ । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि कारोबार नियन्त्रणका लागि सर्किट ब्रेकर लागेको थियो । बन्दीपुर केबलकार हालै सूचीकरण भएको हो । योसँगै माबिलुङ इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत हाराहारीमै बढेको छ । सो दिन नेपाल एसबीआई बैंकको ऋणपत्रको मूल्य सबैभन्दा धेरै ९.३९ प्रतिशतले घटेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully