हिमालयन बैंकको एप र अनलाइन बैंकिङ सेवामा के समस्या देखिएको हो ?

हिमालय बैंकको सिस्टममा देखिएको समस्या समाधान गर्न बैंकले के गरिरहेको छ अनि के यसबारे बैंकहरूलाई नियमन गर्ने राष्ट्र बैंक जानकार छ ?

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

What problems have been observed with Himalayan Bank's app and online banking services?

What you should know

काठमाडौँ — झन्डै तीन सातादेखि हिमालयन बैंकको कोर बैकिङ सिस्टम अवरुद्ध छ । सिस्टममा देखिएको समस्याका कारण बैंकको एप र अनलाइन बैंकिङ सेवाबाट हैरानी पाएका सेवाग्राहीहरुले सामाजिक सञ्जालमा गुनासो मात्रै व्यक्त गरेका छैनन, यो समस्याप्रति बैंक जिम्मेवार नबनिरहेको भन्दै आक्रोश पनि पोखिरहेका छन् ।

हिमालय बैंकको सिस्टममा के समस्या भएको हो ? अनि के यसबारे बैंकहरूलाई नियमन गर्ने राष्ट्र बैंक जानकार छ ? झन्डै तीन सातादेखि हिमालयन बैंकको कोर बैकिङ सिष्टम अवरुद्ध छ । जसको सोझो मार बैंकका मोबाइल बैकिङ एप र अनलाइन बैंकिङ सेवा प्रयोगकर्ताहरूले पाइरहेका छन् । बैंकले भने सिस्टम अपडेट गर्ने क्रममा समस्या आएको प्रतिक्रिया दिइरहेको छ । 

बैंकले सिस्टम अपडेटबारे असोज ३० मा नै सूचना जारी गरेको थियो । उक्त सूचनामा बैंकले प्रयोगमा ल्याएको कोर बैकिङ सफ्टवेयरलाई टी-२४ बाट आर-२३ मा स्तरोन्नति गर्न लागिएकाले बैकिङ सेवा ३ देखि १० कात्तिकसम्म अवरुद्ध हुने उल्लेख छ । तर बैंकले भनेको अवधिपछि पनि एप र अनलाइन बैंकिङ सेवा पूर्ण रूपमा सुरु भएन । त्यसपछि बैंकले कात्तिक १३ मा अर्को सूचना जारी गरेर कात्तिक ११ देखि नै सेवा सुरु भइहेको जानकारी दियो । त्यो सूचनामा मोबाइल बैकिङ र अनलाइन बैकिङ सेवा ‘समय सापेक्ष सुरक्षित, गुणस्तरीय तथा उच्चस्तरीय’ बनाउने उद्देश्यले गरिएको स्तरोन्नतिमा केही समय ढिलो भएकोमा क्षमा मागिएको थियो ।

बैंकले सेवा सुरु भएको बताएपछि पनि सामाजिक सञ्जालमा मोबाइल बैकिङ र अनलाइन बैकिङ सेवा नचलेको र त्यसबाट हैरानी भएको भन्दै सेवाग्राहीहरूले सामाजिक सञ्जालबाट गुनासो मात्रै सार्वजनिक गरेनन बैंककै फेसबुक पेजमा गएर पनि गुनासो र आक्रोश व्यक्त गर्न थाले । प्रविधि क्षेत्रका जानकारहरूका अनुसार बैंकले सेवाग्राहीको गुनासो धेरै आउन थालेपछि भने बैंकले कमेन्ट नै गर्न नमिल्ने वा सिमित गरेको बताउँछन् । तर बैंकले भने बैंकले आफूहरूले कमेन्ट बन्द नगरेको बरु अधिक चापका कारण ‘कमेन्ट प्लेसमेन्ट’ हुन नसकेको दाबी गरेको छ । 

सामाजिक सञ्जालमा बैंकप्रति गुनासो बढन थालेपछि कात्तिक २० मा बैंकले अर्को सूचना जारी गर्‍यो । उक्त सूचनामा बैंकले नयाँ सफ्टवेयर प्रयोगमा आएकाले सबै सेवाहरू प्रभावकारी रूपमा सुरु हुन नसकेको स्वीकार गरेको छ । यद्यपि त्यो सूचनामा पनि कात्तिक ११ गतेबाटै सबै सेवा सुरु भएको दाबी गर्दै कोर बैकिङ सिस्टम अद्यावधिक गर्ने क्रममा मोबाइल बैकिङ र अनलाइन बैकिङ सञ्चालनमा प्राविधिक समस्या आएको उल्लेख छ । 

हिमालयन बैंकका सूचना अधिकारी सुनिलप्रसाद गोर्खालीले कान्तिपुरसँग कुरा गर्दै गत आइतबार रातिदेखि मोबाइल बैकिङ र अनलाइन बैकिङ सुरु भएको दाबी गरे । ‘गएको १०/१५ दिन निकै समस्या भयो । हामीले नयाँ सफ्टवेयर राखेका छौं । नयाँ सिस्टमसँग ‘कम्प्याटिबल’ नहुँदा मोबाइल बैकिङ र अनलाइन बैकिङमा समस्या आएको थियो,’ उनले भने, ‘एकदमै समस्या भएपछि भारतको चेन्नईबाट (सफ्टवेयर प्रदायक कम्पनीबाटै) प्राविधिक बोलाएर समस्या समाधान गरिएको छ । यद्यपि अहिले पनि प्रोसेस स्लो हुने, ह्याङ हुने समस्या अझै देखिन्छ ।’ उनले यी समस्या पनि आजभोलिमा समाधान हुने दाबी गरे ।

 हिमालयन बैंकको सेवा अवरुद्धबारे राष्ट्र बैंकका अधिकारीहरू पनि जानकार छन् । सामान्य अवस्थामा २४ घण्टाभन्दा बढी सेवा अवरुद्ध गर्नुपर्दा बैंकहरूले राष्ट्र बैंकमा जानकारी दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम हिमालयन बैंकले सेवा अवरुद्धको जानकारी राष्ट्र बैंकमा दिएको थियो ।

बैंकको कोर बैकिङ सिस्टममा कुनै समस्या नभएको तर मोबाइल बैकिङ, अनलाइन बैंकिङमा सामान्य समस्या रहेको र ती समस्या पनि आज (मंगलबार) साझसम्म सबै समस्या समाधान हुने जानकारी बैंकबाट प्राप्त भएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । ‘मोबाइल बैकिङमा देखिएको समस्या पनि आज साझदेखि समाधान हुने जानकारी बैंकले दिएको छ,’ उनले भने, ‘बैकले भनेअनुसार समस्या समाधान नभए फेरि कुरा गर्छौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully