‘माफी’ हो कि मार्केटिङ ? के हो सामाजिक सञ्जालमा देखिएका कम्पनीहरूको ‘अफिसियल अपोलोजी स्टेटमेन्ट’ ?

सामाजिक सञ्जालमा यो प्रचार शैलीले धेरैको ध्यान खिचेको छ । कतिपयले यसलाई 'रचनात्मक मार्केटिङ' भन्दै मन पराएका छन् भने केहीले यसलाई 'नाटकीय प्रचार'भनेर आलोचना गरेका छन् ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Is it an 'apology' or marketing? What are the 'official apology statements' of companies seen on social media?

What you should know

काठमाडौँ — पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा नयाँ प्रकारको ट्रेन्ड चलेको छ । जसमा कम्पनीहरूले गल्ती नगरेका भए पनि ‘अफिसियल अपोलोजी स्टेटमेन्ट’ सार्वजनिक गर्दै माफी मागिरहेका छन् ।

कम्पनीका लेटरहेडसहित आधिकारिक जस्तो देखिने ती वक्तव्यहरूमा गल्तीको स्वीकारोक्ति होइन, बरु आफ्नै सेवाको प्रशंसा र मार्केटिङ झल्किन्छ । यो ट्रेन्डमा 'बुद्ध एयर', 'पठाओ'जस्ता कम्पनीहरू पनि सहभागी छन् ।

गत आइतबार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गरेको भन्दै बुद्ध एयरले माफीनामा सार्वजनिक गरेको हो । बुद्ध एयरले दिउँसो १२ बजेर ७ मिनेटको पोस्टमा भनेको छ, 'प्रिय यात्रु महानुभावहरू, विगत २८ वर्षदेखि हामीले बुद्ध एयरमार्फत नेपालमा हवाई यात्रा अत्यन्त सहज बनाएकोमा दोषी ठहरिएका छौँ ।'

बुद्ध एयरअघि राइडिङ सेयरिङ एप 'पठाओ'ले गत शनिबार माफीनामा सार्वजनिक गरेको थियो । लेटरहेडसहितको उक्त विज्ञप्तिमा पठाओको कामबारे तारिफ गरिएको छ । शनिबार दिउँसो ३ बजेर १६ मिनेटमा अफिसियल सामाजिक सञ्जाल अकाउन्टमा पठाओले स्टेटमेन्टको पहिलो लाइनमा नै भनेको छ, 'यहाँको सबैभन्दा राम्रो र सुरक्षित राइड सेयरिङ प्लेटफर्म भएकोमा माफी माग्न चाहन्छौँ ।'

यो भनाइले गल्ती स्वीकार गरेको होइन, बरु आफ्नै सेवा गुणस्तरको घुमाउरो तरिकाले प्रचार गरेको देखिन्छ । यीसँगै अन्य धेरै आईटी कम्पनी, कर्पोरेट हाउस, कन्सल्टेन्सी र रिसोर्टहरूले पनि यस्तै शैलीमा 'स्टेटमेन्ट' सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा यो प्रचार शैलीले धेरैको ध्यान खिचेको छ । कतिपयले यसलाई 'रचनात्मक मार्केटिङ' भन्दै मन पराएका छन् भने केहीले यसलाई 'नाटकीय प्रचार'भनेर आलोचना गरेका छन् ।

यो ट्रेन्ड नेपालसँगै भारतमा पनि तीव्र गतिमा फैलिएको छ । त्यहाँका ठूला ब्रान्डहरू 'टी सिरिज', 'हल्दीराम', 'स्कोडा', 'फक्सवागन', 'अडानी अम्बुजा सिमेन्ट' लगायतले पनि आफ्ना आधिकारिक पेजबाट यस्तै वक्तव्यहरू जारी गर्दै माफीनामा सार्वजनिक गरेका हुन् । त्यस्तै 'भोल्कस्वागन' जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि यो ट्रेन्ड फलो गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully