बैंकहरूको नाफा घट्यो, खराब कर्जा बढ्यो

बैंकको नाफा घट्नुका चार कारण– राजनीतिक अस्थिरता, बाढीपहिरो, दसैं र तिहारबीचमा त्रैमासको मसान्त पर्नु र अझै आन्दोलन हुने हो कि भन्ने अन्योल ।

कार्तिक २५, २०८२

यज्ञ बञ्जाडे

Bank profits fell, bad loans increased

What you should know

काठमाडौँ — २३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनले सिर्जना गरेको असहज परिस्थिति र १८ असोजदेखि केही दिन परेको अविरल वर्षाले पुर्‍याएको जनधनको क्षतिको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासको वित्तीय विवरणमा देखिएको छ ।

ऋणीले ऋणको साँवा–ब्याज तिर्न नसकेपछि बैंकहरूको ब्याज आय बढे पनि कर्जा असुली घट्दा र खराब कर्जाबापतको नोक्सानी व्यवस्था बढ्दा खुद नाफा १८ प्रतिशतले घटेको छ भने खराब कर्जा बढेको छ । आन्दोलन र बाढीसँगै ठूला पर्व दसैं र तिहारको बीचमा पहिलो त्रैमासको मसान्त परेकाले पनि केही ऋणीले नियमित साँवा र ब्याज भुक्तानी गर्न नसकेको बैंकरहरू बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कुल १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो करिब १९.७७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । 

अहिले मुख्यगरी चार कारणले बैंकको नाफा धेरैले घटेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाको भनाइ छ । उनका अनुसार पहिलो जेन–जीको आन्दोलनमा भएको जनधनको क्षति र त्यसपछि सिर्जना भएको राजनीतिक अस्थिरता, दोस्रो १८ असोजदेखि केही दिन आएको अविरल वर्षा र पहिरो, तेस्रो दसैं र तिहारबीचमा परेको त्रैमासको मसान्त र चौथो, मंसिरमा फेरि आन्दोलन हुन्छ तेल, चामल तयार पारेर राख्नुस् भन्ने अभिव्यक्ति बैंकको ब्याज नउठ्नु, नाफा घट्नु र खराब कर्जा बढ्नुका मुख्य कारण हुन् ।

गत असोजयता पनि बैंकमा कर्जाको माग नबढेको कोइरालाले जानकारी दिए । ‘ऋणीहरूले साँवा–ब्याज तिर्न थालेका छन् । तर कर्जाको माग ठप्प छ,’ उनले भने, ‘मुलुकमा सिर्जना भएको अनिश्चितताको अवस्थाले कर्जा माग बढ्न नसकेको हो ।’

पहिलो त्रैमासमा १४ वाणिज्य बैंकको नाफा दुईदेखि ९६ प्रतिशतसम्म घटेको छ । एउटा वाणिज्य बैंक घाटामै गएको छ । यसको अर्थ पहिलो त्रैमासमा त्यो बैंकले आर्जन गरेको आम्दानीभन्दा खर्च बढी भएको भन्ने हो । पहिलो त्रैमासमा नोक्सानीमा रहेको बैंक सिटिजन्स हो । अहिलेको अप्ठ्यारो परिस्थितिमा पनि पाँच वटा बैंक एभरेस्ट, ग्लोबल आईएमई, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य र सानिमा बैंकले गत वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा नाफा बढाएका छन् । कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ९६ प्रतिशतका दरले घटेको छ । बैंकहरूको निष्क्रिय कर्जा उच्च दरले बढेपछि यसका लागि राखिने प्रावधान रकम बढ्दा पनि नाफा धेरैले घटेको हो । 

‘विविध कारणले धेरै ऋणीले ऋणको साँवा–ब्याज तिर्न नसक्दा नाफा घटेको छ,’ सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले भने, ‘अर्थतन्त्रको अवस्थाका कारण असारको ब्याज पनि ऋणीले मुस्किलले तिरेका थिए । साउन र भदौ साँवा–ब्याज भुक्तानीमा सामान्य सुधारको संकेत देखिन थालेको थियो । तर, भदौ अन्तिम साता भएको जेन–जीको आन्दोलन र असोज दोस्रो साता आएको बाढीलगायत सबैको असरले सुधारले निरन्तरता पाउन सकेन ।’ यही कारण बैंकहरूको नाफा घटेको उनको भनाइ छ । 

चालु आर्थिक वर्ष बजेट र मौद्रिक नीतिमा आएका व्यवस्था, अर्थतन्त्र सुधारका लागि रामेश्वर खनालको अध्यक्षतामा उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन कार्यान्वयनको सम्भावनालगायत कारण आर्थिक वर्षको सुरुमा अर्थतन्त्रमा सुधार आउने अपेक्षा थियो । त्यसो हुन सकेको भए, बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्ने, साँवा–ब्याज असुलीमा सुधार आउने अनुमान गरिए पनि अपेक्षाकृत सुधार हुन नसक्दा ती सबैको असर वित्तीय संस्थाको वित्तीय विवरणमा परेको कँडेलको भनाइ छ । ऋण असुली हुन नसक्दा बैंकहरूले निष्क्रिय कर्जाका लागि राख्नुपर्ने प्रावधान रकम बढेपछि नाफा उच्च दरले घटेको हो । 

बैंकहरूको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी पनि पहिलो त्रैमासमा ७.५१ प्रतिशतले बढेको छ । यसअघि ४५ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका बैंकहरूको यस्तो आम्दानी ४९ अर्ब १७ करोड रुपैयाँमा पुगेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नबिल, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई, माछापुच्छ्रे, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट बैंकको खुद ब्याज आम्दानी भने घटेको देखिन्छ । 

पहिलो त्रैमासमा धेरै बैंकको नाफा घटे पनि धेरैजसो वाणिज्य बैंकहरू गत आर्थिक वर्षको कमाइबाट यस वर्ष लाभांश वितरण गर्न सक्ने अवस्थामा छन् । औसतमा यस वर्ष बैंकको लाभांश दर करिब २० प्रतिशत छ । तर यस वर्षको पहिलो त्रैमासको नाफाबाट मात्र बैंकहरू लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन् । 

पहिलो त्रैमासमा बैंकहरूको खराब कर्जा औसतमा ४.८६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिको खराब कर्जा बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको खराब कर्जा औसत ४.०४ प्रतिशत थियो । बैंकपिच्छे खराब कर्जा हेर्दा हिमालयन बैंकको खबैभन्दा बढी ७.३९ प्रतिशत र एभरेस्ट बैंकको सबैभन्दा कम ०.७४ प्रतिशत छ । सोही अवधिमा ५ वटा बैंकको खराब कर्जा ६ प्रतिशतभन्दा बढी र ८ वटा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी छ ।

पहिलो त्रैमासमा बैंकहरूको निक्षेप संकलन औसत ३ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ६.३९ प्रतिशतले बढेको छ । कर्जा असुलीमा समस्या भएपछि राष्ट्र बैंकले १५ कात्तिकसम्म उठेको ब्याज पनि बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरणमा समावेश गर्न पाउने व्यवस्था गरेको थियो । 

जेन–जी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण धेरै ऋणीले असोज मसान्तमा तिर्नुपर्ने साँवा–ब्याज भुक्तानी गरेका छैनन् । यही कारण बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले ब्याज असुली र वित्तीय विवरण प्रकाशित गर्ने समय बढाउन माग गरेका थिए ।

उनीहरूकै आग्रहअनुसार राष्ट्र बैंकले १५ कात्तिकसम्म उठेको ब्याज पनि पहिलो त्रैमासकै वित्तीय विवरणमा गणना गर्न पाउने व्यवस्था गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न थप ७ दिन पाएका थिए । सामान्य अवस्थामा बैंकहरूले १५ कात्तिकसम्म पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसक्नुपर्ने व्यवस्था थियो ।

Bank profits fell, bad loans increased

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully