लामो समय ‘होल्ड’ गर्दा पनि विमानस्थल नखुले पछि कोरियन एयर दिल्ली, कतार एयरवेज ढाका र फ्लाई दुबई लखनउ ‘डाइभर्ट’ भएका थिए । भारतको दिल्लीबाट आउनुपर्ने स्पाइस जेटले उडान रद्द नै गरेको थियो । आन्तरिक उडानतर्फ पनि काठमाडौं उपत्यका बाहिर जाने र काठमाडौं आउने दर्जनौं विमान र सयौं यात्रु अलपत्र परे ।
What you should know
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग–किनारा संकेत गर्ने ‘एज–लाइट’ बिग्रिएपछि शनिबार बेलुकी झन्डै ४ घण्टा विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द हुँदा तीन अन्तर्राष्ट्रिय उडान भारत र बंगलादेश ‘डाइभर्ट’ भएका थिए । सयौं यात्रु काठमाडौं विमानस्थल र जहाजभित्र अलपत्र परेका थिए ।
सोलबाट आएको कोरियन एयर सिमराको आकाशमा झण्डै दुई घण्टा ‘होल्ड’ मा परेको थियो । त्यस्तै, दोहाबाट आएको कतार एयरवेज तीन घन्टा र दुबईबाट आएको फ्लाई दुबई पनि एक घन्टाभन्दा बढी ‘होल्ड’ मा परेका थिए ।
घन्टौँ ‘होल्ड’ गर्दा पनि विमानस्थल नखुले पछि कोरियन एयर दिल्ली, कतार एयरवेज ढाका र फ्लाई दुबई लखनउ ‘डाइभर्ट’ भएका थिए । भारतको दिल्लीबाट आउनुपर्ने स्पाइस जेटले उडान रद्द नै गरेको थियो । आन्तरिक उडानतर्फ पनि काठमाडौं उपत्यका बाहिर जाने र काठमाडौं आउने दर्जनौं विमान र सयौं यात्रु अलपत्र परे ।
रनवेको ‘सर्किट’ मर्मतको काम सुरुमा दिउँसो ३ः३० देखि ४ः३० सम्म र त्यसको एक घन्टापछि पुनः ५ः२५ मा उडान नै रोकेर काम थालिएको थियो । राति ९ः३६ बजे मर्मतको काम सकिएपछि मात्र उडान सुरु भएका थिए ।
काठमाडौं विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, ‘एज–लाइट’मा शनिबार बिहान ४ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । एयर ट्राफिकले टावरबाट बाल्दा विद्युत् आपूर्ति अवरुद्ध भएको पहिचान भएको थियो । दिनभर घामको उज्यालो हुने, अनि जहाजले हेरेर उडान तथा अवतरणमा ‘भीएफआर’ विधि प्रयोग गरिने भएकाले साँझ साढे ५ बजेअघिसम्म गम्भीर समस्या आइपरेन ।
तर अँध्यारो भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानलाई उड्न र अवतरण गर्न धावनमार्गको ‘लाइटिङ’ प्रणाली अनिवार्य चाहिने भएकाले विमानस्थल नै बन्द गरेर ‘सर्किट’ मर्मत गरिएको थियो । विमानस्थलमै रहेका एक इन्जिनियरका अनुसार जमिनमुनिको मुख्यलाइन बिग्रिएपछि उक्त लाइनलाई बाइपास गरेर वैकल्पिक विद्युत् प्रणाली जडान गरेपछि शनिबार राति ९ः३६ बजे विमानस्थल सुचारु गरिएको हो ।
उनका अनुसार धावनमार्गको दुवै किनारामा सेतो रङको ‘एज–लाइट’मा लाइन पास हुन नसकेपछि घरमा रहेका प्राविधिकहरूलाई समेत बोलाएर मर्मत थालिएको थियो ।
‘अल्फा ट्याक्सी–वे’ देखि ‘डेल्टा ट्याक्सी–वे’ सम्म उत्तरदेखि दक्षिणसम्मका धावनमार्गर्का चारवटा ‘ट्याक्सी–वे’, जसले धावनमार्गमा जहाजलाई पुर्याउन वा पार्किङमा ल्याउन सघाउँछन्, त्यसमा थुप्रै ठाउँमा समस्या देखिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए । त्रिभुवन विमानस्थलको धावनमार्गको चौडाइ ४५ मिटर र लम्बाइ ३३ सय ५० मिटर छ । दुवै किनारामा सेतो रङका बत्ती बल्छन् । तर, ‘सर्ट सर्किट’का कारण यी बत्ती बलेनन् । यी बत्तीले जहाजलाई राति र खराब मौसममा हुने ‘आईएफआर’ उडानमा धावनमार्गभित्र रहन मद्दत गर्छन् ।
‘विद्युत् सर्किटमा धेरै ठाउँमा समस्या देखिए । प्रारम्भिक रूपमा कतै पानीले, कतै पूर्वाधार विस्तारका लागि भइरहेको निर्माणका क्रममा डोजरले खनेर, भाइब्रेटर आदिले केवल काटिँदा विद्युत् ‘लिकेज’ भएको देखिएको छ, विस्तृत के भएको हो इन्जिनियरहरूले अध्ययन गरेर रिपोर्ट दिएपछि मात्र थाहा हुनेछ,’ पाण्डेले भने ।
दुई वर्षअघि कोटेश्वरमा राखिएको ‘भीओआरडीएमई’को सर्किटमा समस्या आउँदा करिब २ घण्टा विमानस्थल बन्द भएको थियो ।
बिहान ४ बजे देखिएको समस्या हल गर्न विमानस्थल कार्यालयमा रहेको इलेक्ट्रोमेकानिकल महाशाखाले शनिबार दिउँसो साढे ३ बजेदेखि धावनमार्ग बन्द गरेर मर्मतको काम थालेको थियो । मर्मतका लागि विमानस्थल बन्द भएको जानकारी गराउन तीन पटकसम्म ‘नोटिस टु एयरम्यान’ (नोटाम) नै जारी गरिएको थियो । अन्तिम ‘नोटाम’ राति ९ः२० बजेसम्म लगाइएको थियो ।
पर्यटन व्यवसायी तथा पाटा नेपालका पूर्वअध्यक्ष सुनिल शाक्यले शनिबारको घटनाले विश्वको हवाई सञ्जाल जोड्ने काठमाडौं विमानस्थलको पूर्वाधार व्यवस्थापनमा देखिएको समस्या दीर्घकालीन कमजोरीको स्पष्ट संकेत भएको बताए । ‘सामान्य वर्षाका कारण एउटा एज–लाइट सर्किट सर्ट हुन पुग्नु र देशको एकमात्र प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल नै ठप्प हुनु गम्भीर विषय हो,’ उनले भने, ‘पानी पसेर विद्युत् प्रणाली बिग्रिनु, कमजोर इन्जिनियरिङ मापदण्ड, अपर्याप्त रोकथाम मर्मत र निष्क्रिय अनुगमन प्रणालीको परिणाम हो ।’
