बुटवलमा पाँचतारे होटल हायात प्लेस सञ्चालनमा

होटलको व्यवस्थापन हायात प्लेसले गर्ने तय भएको छ । सन् २००६ मा सुरु भएको हायात प्लेस अहिले विश्वका ४ सय २० स्थानमा फैलिएको छ । होटलमा पाहुनाका लागि सुत्न, काम गर्न र मनोरञ्जनका लागि छुट्टाछुट्टै स्थान रहेका छन् ।

कार्तिक २३, २०८२

दीपेन्द्र बडुवाल, घनश्याम गौतम

Five-star hotel Hyatt Place opens in Butwal

What you should know

बुटवल — पश्चिम नेपालको आर्थिक केन्द्र बुटवलमा पहिलो पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । होटल सञ्चालकले आइतबार साँझ पत्रकार सम्मेलन आयोजना गरेर सेवा सुरुवात गरिएको जानकारी दिएका हुन् ।

बुटवल उपमहानगरपालिका–८ मा २५ कठ्ठा क्षेत्रफलमा होटल निर्माण गरिएको छ । ३ अर्ब ५० करोड लगानीमा पाँच वर्ष खर्चिएर नेपाली परम्परागत वास्तुकला र बुद्ध जन्मस्थल लुम्बिनीस्थित सम्पदासित मेल खाने गरी होटलका संरचना तयार गरिएको छ । होटलमा एकपटकमा २ सय ५० जना अट्ने क्षमता रहेको सञ्चालक समिति अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिए ।

होटलमा रूपन्देहीका प्रतिष्ठित उद्योगी पौडेल र उमाशंकर मालपानी परिवारसँगै ग्लोबल आईएमई बैंक र स्याफ्रोन सिकेको संयुक्त लगानी रहेको छ । पर्यटन लक्षित पूर्वाधार देखेर हस्पिटालिटी क्षेत्रमा लगानी गरे पनि अहिलेको राजनीतिक अस्थिरता लगायत कारणले उत्साहित हुने वातावरण नरहेको अध्यक्ष पौडेलले बताए । केही समयपछि स्तरीय क्यासिनो पनि सञ्चालनमा ल्याइने उनले बताए ।

बुटवलको कुसुमपथमा रहेको होटलबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २५ र लुम्बिनी ४६ किलोमिटर दूरीमा रहेको छ भने बेलहिया नाका २८ किलोमिटर दूरीमा रहेको छ । होटलको व्यवस्थापन हायात प्लेसले गर्ने तय भएको छ । सन् २००६ मा सुरु भएको हायात प्लेस अहिले विश्वका ४ सय २० स्थानमा फैलिएको छ । होटलमा पाहुनाका लागि सुत्न, काम गर्न र मनोरञ्जनका लागि छुट्टाछुट्टै स्थान रहेका छन् ।

होटलको वास्तुकला पनि लोभलाग्दो रहेको सञ्चालक पौडेलले बताए । होटल प्रवेशलगत्तै चारवटा वास्तुकला खम्बा रहेका छन् । साथै होटलमा सुन्दर डिजाइनका १ सय ९ कोठा रहेका छन् । अध्यक्ष पौडेलका अनुसार यी कोठालाई स्ट्यान्डर्ड, फरेस्ट भ्यु, हिल भ्यु, बाल्कोनी, एक्जिक्युटिभ स्विट्स र प्रेसिडेन्सियल स्विट गरी ६ श्रेणीमा विभाजन गरिएको छ ।

‘दुई तला अन्डरग्राउन्ड पार्किङ सुविधा रहेको होटलको दोस्रो तलामा जिङ रेस्टुरेन्ट रहेको छ,’ उनले भने, ‘यो दिनैभरि खुला रहने रेस्टुरेन्ट हो ।’ रेस्टुरेन्टमा १ सय ४७ जना अट्ने क्षमता छ । उक्त रेस्टुरेन्टको डिजाइन मन्दिरको घण्टी र मायादेवी मन्दिरको इँटाबाट प्रेरित रहेको सञ्चालकले बताए । होटलमा कार्यक्रम सञ्चालनका लागि १ हजार १ वर्गमिटर क्षेत्रफलको सभागृह रहेको छ । यसका साथै बैठक र कर्पोरेट कार्यक्रमका लागि साना–ठूला हल रहेका छन् ।

होटलमा सुन्दर पौडी पोखरी छ । पहिलो तल्लामा आधुनिक व्यायामशाला, त्यहीँ तलामा माटोको घरबाट प्रेरित स्पा तथा ज्याकुजी सुविधा रहेका छन् । साथै बालबालिकाका लागि खेल्ने ठाउँ पनि रहेको छ ।

दीपेन्द्र

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully