खाद्यले मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ ३३ पैसामा खरिद गर्ने भएको छ ।
नेपालगन्ज — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ ३३ पैसामा खरिद गर्ने गरी मूल्य निर्धारण गरिएको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी तामाङले किसानले बजारमा सरकारी मूल्यभन्दा कममा धान बिक्री गरिरहेको भन्दै छिटो धान खरिद थाल्न निर्देशन दिएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले मूल्य निर्धारणको काम गरिए पनि आइतबारबाट मात्रै किसानबाट धान खरिद सुरु गरिने जानकारी दिए । कार्यालय प्रमुख लामिछानेले भने, 'गोदाम व्यवस्थापन लगायतका अन्य प्राविधिक काम सकेर किसानबाट धान खरिद गर्नेछौं ।'
बाँकेमा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान ५ हजार क्विन्टल किसानबाट खरिद गर्ने निर्णय भएको छ ।
