त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बिजुली सर्ट, उडान स्थगित

इलेक्ट्रिकल विभागका कर्मचारीहरूले फल्ट पत्ता लगाउने प्रयास जारी राखेका छन् । प्रारम्भिक जानकारीअनुसार धावनमार्गको किनारामा रहेको ‘एज लाइट’ सर्ट भएको पाइएको छ ।

कार्तिक २२, २०८२

सुरज कुँवर

Electrical short circuit on Tribhuvan International Airport runway, flights suspended

काठमाडौँ — शनिबार बेलुकी करिब ५ बजेर २५ मिनेटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अचानक बिजुली सर्ट हुँदा सम्पूर्ण उडान गतिविधि प्रभावित भएका छन् । विमानस्थल स्रोतका अनुसार लगातारको वर्षाका कारण धावनमार्गमा पानी पसेर विद्युत् सर्ट भएको अनुमान गरिएको छ । 

इलेक्ट्रिकल विभागका कर्मचारीहरूले फल्ट पत्ता लगाउने प्रयास जारी राखेका छन् । प्रारम्भिक जानकारीअनुसार धावनमार्गको किनारामा रहेको ‘एज लाइट’ सर्ट भएको पाइएको छ ।

बिजुली सर्ट भएपछि दुबईबाट आएको फ्लाई दुबई, दोहाबाट आएको कतार एयरवेज र कोरियाबाट आएको कोरियन एयरका जहाजहरूलाई सिमरामाथिको आकाशमा होल्डमा राखिएको छ । त्यस्तै, आन्तरिकतर्फ जनकपुरबाट आएको बुद्ध एयरको एटीआर विमान पनि सिमरामै होल्डमा रहेको छ ।

यद्यपि, काठमाडौंबाट उडान नहुँदा विमानस्थलमा यात्रुहरूको चाप बढेको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग करिब ३३ सय ५० मिटर लामो छ । हाल धावनमार्ग अँध्यारो बनेको छ र मर्मत कार्य तीव्र रूपमा भइरहेको विमानस्थलले जनाएको छ ।

यसैबीच, कोरियन एयरको जहाज होल्डमा धेरै रहँदा इन्धन अभाव हुने भएपछि सीमराको आकाशबाटै काठमाडौं नआई नयाँ दिल्ली डाइर्भट भएको छ । 

यसैगरी आन्तरिकतर्फ जनकपुरबाट आइरहेको बुद्ध एयरको विमान पनि उतै फर्किएको छ । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully