एयर होस्टेजको उमेर हद र वृत्ति विकास गर्न माग

निगममा कार्यरत सम्पूर्ण एयर होस्टेजहरू (क्याबिन क्रु) को पेशागत संगठन सि क्यानले शुक्रबार निगमको व्यवस्थापनलाई तीन बुँदे सुझाव दिएको हो ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Demand to develop age limit and skills of air hostesses

काठमाडौँ — नेपाल एयरलाइन्समा कार्यरत एयर होस्टेजहरूले अवकाश उमेर कम्तीमा ५० वर्ष हुनुपर्ने मागसहित व्यवस्थापनसमक्ष शुक्रबार ज्ञापनपत्र पेस गरेका छन् ।

सर्वोच्च अदालत र श्रम अदालतले अवकाशको उमेर हद विषयमा प्रष्ट पारिसकेको र कर्मचारी विनियमावलीको ५० वर्षे प्रावधान कार्यान्वयन नभएको विषयलाई नेपाल वायुसेवा क्याबिन क्रु संघ (सि क्यान)ले चर्को ढंगले उठाउँदै आएको छ ।

सोही क्रममा निगममा कार्यरत सम्पूर्ण एयर होस्टेजहरू (क्याबिन क्रु)को पेशागत संगठन सि क्यानले शुक्रबार निगमको व्यवस्थापनलाई तीन बुँदे सुझाव दिएको हो ।

सि क्यानका अध्यक्ष प्रजिता कार्की नेतृत्वको टोलीले निगमका नवनियुक्त निमित्त महाप्रवन्धक जनकराज कालाखेतीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । क्याबिन क्रुका सदस्यहरूलाई अन्य कर्मचारीको तुलनामा सेवा, सुविधा, अवकाश उमेरमा भेदभाव र अन्याय हुँदै आएको त्यसमा उल्लेख छ ।

सि क्यानले निगमभित्रका वेथिति रोक्न, इन्जिन मर्मत र भाडा दिँदा हुने अपारदर्शिता तथा भ्रष्टाचार अन्त गर्नुपर्ने, त्यसमा आफूहरू सहयोग गर्न तयार रहेको जनाएको थियो ।

ज्ञापनपत्र बुझ्दै निमित्त महाप्रवन्धक कालाखेतीले सि क्यानका सुझाव जायज भएकोले पूरा गर्न हरसम्भव पहल हुने दृढता व्यक्त गरेका थिए।

कालाखेतिले क्याबिन क्रुहरूलाई निगमको ‘ब्राण्ड एम्बेसडर’को संज्ञा दिँदै, उनीहरूले जति राम्रो काम गरे, त्यति नै संस्थाको हित हुने बताए । त्यसक्रममा कालाखेतीलाई सफलताका लागि शुभकामना तथा बधाई समेत दिइएको थियो ।

एयर होस्टेजहरूको पेशागत हक, हित, र विकासका लागि स्थापित सि क्यान हालैमात्र प्रजिता कार्कीको अध्यक्षतामा पुनर्गठन भएको हो ।

कान्तिपुर

Link copied successfully