दुई दिनपछि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

बुधबार १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० वटाको घट्यो, १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो 

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by double digits after two days, but trading volume decreases

काठमाडौँ — अघिल्ला दुई दिन लगातार घटेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । सोमबार ८.२४ र मंगलबार २७.६४ अंकले घटेको नेप्से बुधबार १२.१७ अंकले बढेको हो । अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कारोबारमा आएकामध्ये १ सय ४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० वटाको घट्यो । १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । यसरी सेयरमूल्य बढ्ने कम्पनी घट्नेभन्दा धेरै भएपछि बुधबार समग्र नेप्से दोहोरो अंकले उकालो लागेको हो । 

बुधबार ४२ हजार ८ सय ७९ पटकको कारोबारमा ९२ लाख १८ हजार ८ सय १० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ५ अर्ब १५ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको हो । तर यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.४५ र सामूहिक लगानी कोषको ०.०५ प्रतिशतले घट्यो ।

मंगलबारबाट कारोबारमा आएको माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरिएको छ । बुधबार बजार बन्द हुँदासम्म यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ सय ८४ रुपैयाँ छ । यस दिन फस्ट माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्य ७.४८ प्रतिशतले घट्यो । यो कम्पनीको प्रतिकित्ता ८ सय ७८ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । 

बुधबार युनियन हाइड्रोको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यो कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार सेयर बजारको आकार कुल बजार पुँजीकरण करिब २१ अर्ब रुपैयाँले विस्तार भएको छ । मंगलबार ४३ खर्ब ३९ अर्ब रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण बुधबार बढेर ४३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यससँगै लगानीकर्ताको सम्पत्तिको मूल्य करिब २१ अर्ब रुपैयाँले बढेको विश्लेषण गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully