गण्डकीको ‘एडभेन्चर राइड’ मा भारतीय

हवाईमार्ग भएर काठमाडौंबाट पोखरा आउने विदेशी पर्यटकका लागि भारतबाट बुलेट मोटरसाइकल भने केही गाडीमा र केही चलाएरै पोखरा पुर्‍याइन लागिएकाे छ ।

कार्तिक २०, २०८२

भवानी भट्ट

Indians on Gandaki's 'Adventure Ride'

What you should know

कञ्चनपुर — भारतको लेह लद्दाख, हिमाचल र उत्तराखण्डलगायत उच्च हिमाली भेगमा पर्यटक घुमाउने दिल्लीको एडभेन्चर अन ह्विल्स कम्पनीको टोली गत साता गड्डाचौकी नाका हुँदै बुलेट (हिमालयन रायल इन्फिल्ड) मोटरसाइकलसहित नेपाल भित्रिएको छ ।

एडभेन्चर अन ह्विल्सले भारतका ६ पर्यटकलाई एडभेन्चर बाइक राइडिङका लागि ठूला खाले मोटरसाइकलसहित नेपाल घुमाउने जिम्मा लिएको थियो । त्यसकै लागि उनीहरू मोटरसाइकलसहित आएका हुन् ।

‘हामी पाँच–सात वर्षदेखि भारत र नेपालमा पर्यटक घुमाइरहेका छौं,’ एडभेन्चर ह्विल्सका सञ्चालक सञ्जय कुमारले भने, ‘एडभेन्चर चाहने पर्यटक मोटरसाइकल राइडिङमै रमाउँछन्, नेपालमा मनाङ, मुस्ताङमा बाइक राइडिङका लागि निकै खुसी हुन्छन् ।’ उनले १० दिन पर्यटकलाई नेपाल घुमाउनेछन् । विदेशी पर्यटक हवाईमार्ग भएर काठमाडौंबाट पोखरा आउनेछन् । मोटरसाइकल भने केही गाडीमा र केही चलाएरै पोखरा पुर्‍याइनेछ ।

एडभेन्चर ह्विल्सको टोलीमा मोटरसाइकल मर्मत गर्नेदेखि स्वास्थ्यकर्मी र आवश्यक परे उद्धार गर्ने टोलीसमेत सँगै रहनेछ । उनीहरूले पर्यटकलाई कुनै पनि खालको समस्या हुन दिने छैनन् । मोटरसाइकल बिग्रेमा तत्काल मर्मत गरिदिने, कुनै स्वास्थ्य समस्या देखिए उपचार गर्ने र केही अप्ठ्यारो भएमा उद्धार गर्ने काम गरिनेछ ।

Indians on Gandaki's 'Adventure Ride'

मोटरसाइकल ल्याउने तथा लैजाने क्रममा बाटोमा छाडा चौपायादेखि जाँचका कारण बढी झन्झट हुने गरेको सञ्जयले बताए । ठाउँठाउँमा हुने जाँच र त्यसैमा बाटोभरि छाडा चौपायाका कारण यात्रा गर्ने गाह्रो हुने गरेको उनको भनाइ छ । भारतकै हिमालयन मोटरसाइकल एडभेन्चर कम्पनीले पनि १० वटा बुलेट मोटरसाइकल यसै साता नेपाल भित्र्याएको छ । उक्त कम्पनीले पनि पोखराबाट पर्यटकलाई एडभेन्चर राइडिङका लागि उक्त गाडी ल्याएको हो ।

‘हामी २० वर्षदेखि यसैगरी पर्यटकलाई एडभेन्चर राइडिङ गराइरहेका छौं,’ हिमालय मोटरसाइकल एडभेन्चरका प्रतिनिधि सेहजादले भने, ‘उतैबाट पर्यटकले माग गरेअनुसार मोटरसाइकल ल्याउँछौं, मागअनुसार नेपालमा १०/१५ दिन राख्छौं ।’ यसपटक अहिले १० दिनका लागि १० वटा मोटरसाइकल भन्सार प्रक्रिया पूरा गरेर भित्र्याइएको उनले बताए ।

सेहजाद आफैं दुई दशकदेखि भारतबाट पर्यटक चढ्ने मोटरसाइकल गाडीमा ल्याउने गरेका छन् । उनले पोखरासम्म गाडीमा पुर्‍याउँछन् भने त्यसपछि पर्यटक आफैं राइड गरेर उच्च पहाडी र हिमाली जिल्ला पुग्छन् । अहिले मनाङ र मुस्ताङ क्षेत्रमा पर्यटक एडभेन्चर राइडिङका लागि रुचाउने गरेको सेहजादको भनाइ छ ।
गड्डाचौकी भन्सार कार्यालयका अनुसार यो वर्ष हालसम्म एडभेन्चर राइडिङका लागि ८० मोटरसाइकल अस्थायी रूपमा भित्रिएका छन् । पर्यटकीय गतिविधिका लागि भित्रिने मोटरसाइकलको हकमा एक वर्षमा पटक–पटक वा एकैपटक गरी बढीमा ६ महिनासम्म चलाउन पाउने व्यवस्था रहेको भन्सार अधिकृत दानबहादुर थापाले जनाए ।

Indians on Gandaki's 'Adventure Ride'

पर्यटकका लागि भित्रिने मोटरसाइकलमा भन्सार शुल्क नलाग्ने उनले बताए । ‘यसपटक भारतको हिमाचल र उत्तराखण्डमा बर्खामा विपद्का कारण असर गरेकाले त्यहाँ पुग्ने पर्यटक नेपालतर्फ आइरहेका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले भने, ‘विगतको तुलनामा यसपटक एडभेन्चर राइडिङका लागि बढी मोटरसाइकल भित्रिएका छन् ।’ बर्सेनि एडभेन्चर राइडिङका लागि ठूलो संख्यामा हेभी मोटरसाइकल भन्सार तिरेर भित्रिने गरेका छन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully