काठमाडाैंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले उडान चाप थेग्न नसक्ने भएकाले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललगायत संरचना चलायमान तुल्याउन वायु सेवाको पुनसंरचना जरुरी रहेको गतिशील पार्टीले औंल्याएको छ ।
भैरहवा — गतिशील लोकतान्त्रिक पार्टीले उड्ययन क्षेत्रबाट मुलुकमा पर्यटक भित्र्याउन नेपाली वायुसेवाको पुनर्संरचना गर्नुपर्नेमा जोड दिएको छ ।
काठमाडाैंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले उडान चाप थेग्न नसक्ने भएकाले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललगायत संरचना चलायमान तुल्याउन वायु सेवाको पुनसंरचना जरुरी रहेको पार्टीले औंल्याएको हो ।
पार्टीले भैरहवामा बिहीबार पहिलो अवधारणा सार्वजनिक गर्दै आफ्नो दीर्घकालीन भिजन प्रस्तुत गरेको हो ।पार्टीका सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष बीरेन्द्रबहादुर बस्नेतले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट मनग्ये पर्यटक भित्र्याउन सकिने विकल्प देखेर पार्टीले भैरहवाबाट पर्यटक बृद्धि सम्बन्धी पहिलो अवधारणा सार्वजनिक गरेको जनाए । ‘भैरहवाबाट वाइडबडी जहाजले अमेरिकासम्म उडान भर्न सक्ने सामर्थ्य छ,’ उनले भने, ‘गत वर्ष कतार एयरवेजले उडान भरेर त्यसको पुष्टि गरिसकेको छ ।’
भैरहवा र भारतको नयाँ दिल्लीस्थित विमानस्थलमा समानता रहेकाले दिल्लीबाट उडान भर्ने सबै जहाजको उडान भैरहवाबाट सम्भव रहेको बताए । त्यसकालागि नेपालको वायुसेवा क्षेत्रकै पुर्नसंरचना जरुरी रहेको उनले बताए ।
‘नेपाल एयरलाइन्सलाई अब पब्लिक कम्पनीमा लैजानुपर्छ,’ उनले भने, ‘सरकारले ३० प्रतिशत शेयर राखेर बाँकी पब्लिकलाई दिनुपर्छ ।’ आफूहरुले अभिभारा प्राप्त गरेकामा तीन महिनाभित्र नेपालको वायुसेवालाई कालोसूचीबाट हटाउने जनाउँदै त्यसका लागि सरकारले जिम्मेवारी दिनुपर्ने बताए । ‘अब राष्ट्रले वार्षिक ५ लाखका दरले १० वर्षमा ५० लाख पर्यटन भित्र्याउनु पर्छ,’ उनले भने, ‘त्यसले मुलुकमा ३० लाख रोजगारी सिर्जना हुन्छ ।’
वायुसेवा क्षेको पुर्नसंरचनाका लागि ए ३५०–१००० श्रेणीका ५० वटा विमान जरुरी रहेको बताए । लिज फाइनान्स गरेर जहाज खरिद गर्न सम्भव रहेको जनाउ“दैं त्यसकालागि सुरुमा २५ अर्ब रुपैयाँ आवश्यक पर्ने बताए ।
नेपाल एयरलाइन्सलाई पुर्नसंरचना नगरेसम्म पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न नसकिने उनले बताए । भैरहवा विमानस्थलबाट एक घण्टामा कम्तीमा ६ उडान भर्न सकिने उनले बताए । ‘गौतमबुद्ध विमानस्थल खेर जान दिन भएन,’ उनले भने, ‘सरकारले पुर्नसंरचनाकालागि अभिभारा दिएमा ४ देखि ६ महिनाभित्र परिवर्तन गरेर देखाउन सक्छौं ।’
उनका अनुसार काठमाडाैंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अहिले वार्षिक २४ लाख जना भित्रिरहेका छन् । ती मध्ये १३ लाख नेपाली रहेका छन् ।
पर्यटकका रुपमा भित्रिने ११ लाखमध्ये अधिकांश गैर आवासीय नेपाली हुने गरेका छन् । काठमाडाैंबाट वार्षिक ७/८ लाख पर्यटक मात्र भित्रिने गरेको पार्टीले जनाएको छ ।
