एभरेस्ट रोलिङ मिलले तिर्‍यो बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत् लाइन जडान

पहिलो किस्ता बुझाएपछि विच्छेद गरिएको उद्योगको विद्युत् लाइन जडान गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Everest Rolling Mill pays first installment of dues, reconnects disconnected power line

काठमाडौँ — डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्दै आएको एभरेस्ट रोलिङ मिलले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेको छ। भैरहवा क्षेत्रमा सञ्चालनमा रहेको उक्त उद्योगले बुधबार बक्यौताको पहिलो किस्ता बुझाएको हो।

पहिलो किस्ता बुझाएपछि विच्छेद गरिएको उद्योगको विद्युत् लाइन जडान गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।

उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको प्रिमियम महसुल बुझाउन बाँकी थियो। एभरेस्ट रोलिङ मिलको करिब १७ लाख रुपैयाँ बक्यौता रहेको र उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको प्राधिकरणले जनाएको छ। उद्योगहरूले त्यसको पहिलो किस्ता बुझाएका हुन्।

यद्यपि उद्योगीहरूले भने प्राधिकरणलाई बुझाइएको रकम किस्ता नभई ‘धरौटी’ स्वरूप रहेको दाबी गर्दै आएका छन्। प्राधिकरणले भने यसबारे कुनै औपचारिक सहमति नभएको जनाएको छ।

प्राधिकरणले कात्तिक ४ गतेदेखि २३ उद्योगको विद्युत् आपूर्ति बन्द गरेको थियो। तीमध्ये १३ उद्योगको बिजुली अझै काटिएको अवस्थामा छ। कुल २५ उद्योगमध्ये दुई उद्योग पहिले नै बन्द भएका थिए।

तिहारकै बीचमा गोयन्का फुड्स र घराना फुड्सले किस्ता बुझाएपछि विद्युत् लाइन पुनः जडान गरिएको थियो। त्यसपछि सोमबार चार, मंगलबार तीन र बुधबार थप एक उद्योगले किस्ता बुझाएका हुन्।

प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्यसचिव एकनारायण अर्याल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सोमबार भएको छलफलमा डेडिकेटेड तथा ट्रङ्क लाइन बक्यौता विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारिएको थियो।

उक्त छलफलमा उद्योगीहरूले २८ किस्तामध्ये पहिलो किस्ताबराबरको रकमलाई ‘किस्ता’ नभई ‘विवादित रकम’ मानेर धरौटीका रूपमा बुझाउने, विद्युत् लाइन तुरुन्त जडान गरिने र त्यसपछि पुनरावलोकन, पुनरावेदन तथा न्यायिक प्रक्रियाबाट अघि बढ्ने मौखिक सहमति भएको बताइएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully