चमेलिया-जौलजिवी २२० केभी प्रसारणलाइनको डीपीआर नोभेम्बरभित्र तयार गर्ने

नयाँ बुटवल- गोरखपुर ४०० केभी प्रसारण लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

DPR for Chameliya-Jaulljivi 220 kV transmission line to be prepared by November

काठमाडौँ — नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी) बैठकले दुवै देशबीच विद्युत् आदान–प्रदान, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा छलफल गरेको छ।

जेटीटीको १७औँ बैठक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारत सरकारको केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सहअध्यक्षतामा सोमबार र मंगलबार पोखरामा बसेको हो।

 बैठकमा यी सहमतिहरू भएका छन्–

- चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइन सम्बन्धमा नेपाल र भारतले आफ्नो–आफ्नो पक्षको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरे । संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डीपीआर नोभेम्बर २०२५ भित्र तयार गर्ने र प्रसारण लाइनको निर्माण कार्य डिसेम्बर २०२७ सम्म सम्पन्न गर्ने सहमति भयो।

- नयाँ बुटवल–गोरखपुर ४०० केभी लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने तयारी हुनेछ । यसमार्फत विद्युत् आयात–निर्यात क्षमताबारे थप छलफल गर्न उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग १५ दिनभित्र बैठक गर्ने सहमति भएको छ । 

- ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सितामढी प्रसारण लाइनमार्फत विद्युत् आदान–प्रदान क्षमताको पुनर्मूल्यांकन गर्दा नेपालले १५०० मेगावाटसम्म निर्यात र १४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ ।

- निजगढ–मोतीहारी ४०० केभी डबल सर्किट लाइनको डीपीआर निर्माणका लागि आवश्यक प्राविधिक विवरण नेपालले एक महिनाभित्र उपलब्ध गराउने र दुवै देशले संयुक्त रूपमा डीपीआर तयार गर्ने।

- लमही–लखनउ ४०० केभी लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लमही वा कोहलपुर कुन हुने भन्ने विषयमा संयुक्त अध्ययन गरी डीपीआर तयार गर्ने सहमति भयो।

- ढल्केवर–मुजफ्फरपुर ४०० केभी लाइनको रीकन्डक्टरिङ कार्यमा उच्च तापक्रम सहनसक्ने एचटीएलएस प्रविधि  अपनाउने गरी डीपीआर तयार गरिने।

- रक्सौल–परवानीपुर र रामनगर–गण्डक १३२ केभी लाइनको क्षमता अभिवृद्धिका लागि पुराना कन्डक्टरलाई एचटीएलएस कन्डक्टरले प्रतिस्थापन गर्ने सम्भाव्यता संयुक्तरूपमा अध्ययन गर्ने।

कान्तिपुर संवाददाता

Link copied successfully