वर्षाले पाकेको धान सोतर : कोशीमा साढे १२ हजार हेक्टरभन्दा बढी क्षेत्रको धानबालीमा क्षति

क्षति भएको कुनै पनि बालीको कृषि बिमा भएको छैन ।

कार्तिक १७, २०८२

पर्वत पोर्तेल

Rain-ripened rice crop damaged: Rice crops in over 12,500 hectares in Koshi

विराटनगर — कार्तिक १५–१७ सम्म वर्षाले कोशी प्रदेशका १४ जिल्लामा करिब १२ हजार ६ सय ६२ हेक्टर जमिनको करिब ५६ हजार २ सय ६७ दशमलव २६ मेट्रिक टन धानबालीमा क्षति पुगेको छ ।

कृषि निर्देशनालय, विराटनगरका अनुसार तराईका जिल्लाहरूमध्ये झापामा सबैभन्दा बढी ४ हजार ३ सय ६४ हेक्टर जमिनको करिब २१ हजार ८ सय २० मेट्रिक टन धानमा क्षति पुगेको छ ।

त्यसैगरी मोरङमा ३ हजार ४ सय २१ हेक्टरको १६ हजार ४ सय २० मेट्रिक टनमा क्षति पुगेको छ ।

सुनसरीमा २ हजार ८ सय ५१ हेक्टरको १२ हजार ६ सय ५८ दशमलव ४४ मेट्रिक टन क्षति भएको छ ।

पहाडी जिल्लाहरूमा उदयपुरमा ३ सय २३ हेक्टरको १ हजार २ सय ९२, इलाममा २ सय ६८ हेक्टरको ८ सय ९७ दशमलव ८ मेट्रिक टन, पाँचथरमा १ सय ४४ हेक्टरको ३ सय ४१ दशमलव २८ मेट्रिक टन, धनकुटामा १ सय १८ हेक्टर जमिनको ३ सय ८९ दशमलव ४ मेट्रिक टन, तेह्रथुममा १ सय ५७ हेक्टरको ३ सय ७२ दशमलव ०९ मेट्रिक टन, भोजपुरमा २ सय ५० हेक्टरको ७ सय ४० मेट्रिक टन, खोटाङमा २ सय हेक्टरको ४ सय ५० मेट्रिक टन, ७६ हेक्टरको १ सय ९० मेट्रिक टनमा क्षति पुगेको छ ।

हिमाली जिल्लाहरूमा संखुवाभामा सबैभन्दा बढी १ सय २५ हेक्टरको ३ सय १२ दशमलव ५ मेट्रिक टन, उच्च हिमाली जिल्ला सोलुखुम्बुमा सबैभन्दा कम १५ हेक्टर जमिनको ४० दशमलव ५९ मेट्रिक टन धानमा क्षति पुगेको छ । ताप्लेजुङमा १ सय २० हेक्टरको ३ सय ४२ मेट्रिक टन क्षति भएको छ ।

निर्देशनालयकी बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार तराईका जिल्लामा २० प्रतिशत पाकेको धान सोतर भएको छ, जसमध्ये करिब २५–३० प्रतिशतमा क्षति भएको छ ।

पहाडी जिल्लामा ८–१० प्रतिशत धान सोतर हुँदा २५ प्रतिशतमा क्षति पुगेको छ भने हिमाली जिल्लामा ५–६ प्रतिशत धान सोतर भएकामध्ये २५ प्रतिशतमा क्षति पुगेको हो । क्षति भएको कुनै पनि बालीको कृषि बिमा भएको छैन ।

निर्देशनालयले गरेको प्रारम्भिक अनुसन्धान अनुसार सबै नष्ट धानबालीमा 'बिमा नभएको' उल्लेख गरिएको छ, जस अन्तर्गत बिमा क्षेत्रफल र बीमांक रकम दुवै शून्य रहेको छ । यसले गर्दा हालसम्म किसानबाट कुनै बिमा दाबी आएका छैनन् र क्षतिपूर्तिका लागि बिमा कम्पनीबाट कुनै रकम छुट्याइएको छैन ।

कोशी प्रदेशका किसान अहिले समस्यामा छन् । करिब १२ हजार ६ सय ६२ हेक्टरभन्दा बढी क्षेत्रको ५६ हजार २ सय ६७ दशमलव २६ मेट्रिक टन धानबाली नष्ट हुँदा प्रदेशको कुल धान उत्पादनमा गिरावट आउने देखिएको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully