३०.७५ अंकले बढ्यो नेप्से, सवा ९ अर्बको कारोबार

जीवन बिमा ५५६.८६, निर्जीवन बिमा १४५.७४ र फाइनान्स ११६.३६ अंकले बढे, व्यापार उपसमूह भने ४२.५८ अंकले घट्यो

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

NEPSE rises by 30.75 points, turnover worth Rs 9.25 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७५ अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से एक दशमलव १८ प्रतिशतले वृद्धि भएपछि आइतबार २६ सय ३१ दशमलव १४ बिन्दुमा उक्लिएको हो । गत बिहीबार ३४.२२ अंकले नेप्से बढेको थियो । 

आइतबार कारोबारमा आएकामध्ये २ सय ५ कम्पनीको सेयरमूल्य बढ्यो, ४२ कम्पनीको घट्यो र ३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ६८ हजार १ सय १२ पटकको सेयर किनबेचमा ९ अर्ब २० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भयो । यस दिन २ करोड ९७ लाख ३८ हजार १ सय ३९ कित्ता सेयर किनबेच भए ।

आइतबार कुल १३ उपसमूहमध्ये व्यापारबाहेक सबै उपसमूह बढे । जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जलविद्युत्लगायत सबै उपसमूह बढे । जीवन बिमा ५५६.८६, निर्जीवन बिमा १४५.७४ र फाइनान्स ११६.३६ अंकले बढेको नेप्सले जनाएको छ । व्यापार उपसमूह भने ४२.५८ अंकले घटेको छ । 

सामुदायिक लघुवित्त, गुर्खाज फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्यो । खानीखोला हाइड्रोपावरको ४.७६, एनआइसी एसिया फेल्क्सी क्याप फन्डको ४.०२, प्रभु बैंक डिबेन्चर (२०८६) को ३.९४, हिमालय पावर पार्टनरको ३.७३ र संग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर (२०८७) को ३.६८ प्रतिशतले सेयर मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालय बैंक (प्रमोटर), युनियन हाइड्रोपावर, बुटवल पावर कम्पनी, राधी विद्युत् कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अघि रह्यो । 

आइतबार हिमालय बैंक (प्रमोटर) को १ अर्ब ६६ करोड ५० लाख, युनियन हाइड्रोपावरको ३४ करोड ३० लाख, बुटवल पावर कम्पनीको २५ करोड ४८ लाख, राधी विद्युत् कम्पनीको २४ करोड ५० लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २० करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

एकै दिन नेप्से ३०.७५ अंकले बढेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) ५१ अर्ब ४१ करोड १ लाख रुपैयाँले वृद्धि भएको छ  । गत बिहीबार ४३ खर्ब ४७ अर्ब १६ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार ४३ खर्ब ९८ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully