नेपाल-भारत संयुक्त प्राविधिक टोलीको बैठक पोखरामा

बैठकमा निर्माणाधीन बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको हालसम्मको प्रगतिबारे छलफल गरिने

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Nepal-India joint technical team meeting in Pokhara

काठमाडौँ — नेपाल-भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १७ औं बैठक सुरु भएको छ । सोमबारदेखि पोखरामा बैठक सुरू भएको ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप देवले बताए ।

सहसचिव देवका अनुसार आगामी सन् २०२६ को मेबाट सञ्चालनमा ल्याउने भनिएको निर्माणाधीन बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको हालसम्मको प्रगतिबारे छलफल गरिनेछ । उक्त प्रसारणलाइन निर्माण सम्पन्न भएपछि कसरी चार्ज गर्ने भन्ने मुख्य एजेन्डा रहेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव देवले बताए ।

त्यस्तै  २२० केभी चमेलिया (नेपाल)–जलजिबी (भारत) प्रसारण लाइको प्रगति र कार्यान्वयनबारे छलफल हुने मन्त्रालयले जनाएको छ ।  कुल ४५ किलोमिटर यो प्रसारण लाइनमा ४४.५ किमि नेपाली भूभागमा पर्छ भने भारतमा जम्मा ५ सय मिटर मात्र छ । २०८१ मा बसेको नेपाल -भारत ऊर्जा सचिवस्तरीय बैठकले उक्त प्रसारण लाइनको अध्ययन सकाउने र सन् २०२७ भित्र निर्माण सकेर सञ्चालनमा ल्याउनेसमेत सहमति भएको थियो ।

देवका अनुसार ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइनको क्षमता पुनः मूल्यांकन गर्ने एजेन्डा पनि छ । 'बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनको फेरि रिभ्यु गर्नेछौं,' उनले भने, 'हाल यो लाइनको क्षमता ११ सय मेगावाट तय गरिएको छ ।' 

बैठकमा निजगढ–मोतीहारी ४०० केभी र लमही–लखनऊ-कोहलपुर ४०० केभी प्रसारण लाइनको विषयमा समेत छलफल हुनेछ । 'भविष्यमा के-कस्ता प्रसारण लाइन बनाउन सकिने भन्नेबारे छलफल गर्नेछौं,' उनले भने । 

कान्तिपुर

Link copied successfully