'शान्ति र समृद्धिका लागि ऐक्यबद्धता' जनाउन निजी क्षेत्रको संयुक्त घोषणा

मुलुकको वर्तमान आर्थिक, राजनीतिक र सामाजिक परिस्थितिलाई सम्बोधन गर्दै 'शान्ति र समृद्धिका लागि ऐक्यबद्धता' जनाउन निजी क्षेत्रको संयुक्त घोषणा जारी गरेको हो ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Joint declaration by the private sector to express 'solidarity for peace and prosperity'

काठमाडौँ — मुलुकमा बढ्दो आर्थिक अनिश्चितता, राजनीतिक अस्थिरता र हालैका सामाजिक आन्दोलनहरूबीच निजी क्षेत्रले आफ्नो भूमिकालाई थप जिम्मेवार, पारदर्शी र राष्ट्रनिर्माणमुखी बनाउन संयुक्त घोषणा जारी गरिएको छ ।

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को संयोजनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल, नेपाल निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायतले 'शान्ति र समृद्धिका लागि ऐक्यबद्धता' जनाउन संयुक्त घोषणा जारी गरिएको छ ।

मुलुकको वर्तमान आर्थिक, राजनीतिक र सामाजिक परिस्थितिलाई सम्बोधन गर्दै 'शान्ति र समृद्धिका लागि ऐक्यबद्धता' जनाउन निजी क्षेत्रको संयुक्त घोषणा जारी गरेको हो ।

करका माध्यमबाट खर्बौं रुपैयाँ योगदान र करिब ५० लाख रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले  कठिन समयमा पनि राष्ट्रको हितका लागि निरन्तर योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । शान्ति र समृद्धि एक–अर्काका पूरक भएको र देशको कठिन घडीमा निजी क्षेत्र केवल अर्थतन्त्रको साधन मात्र नभई राष्ट्रिय एकता र आशाको आधार  रहेको एनबीआईका अध्यक्ष कुशकुमार जोशीले बताए ।

यी हुन् निजी क्षेत्रका संयुक्त घोषणा 

१. एनबीआईको समन्वयमा निजी क्षेत्रका अग्रणी संघसंस्थाका प्रमुखसहितको कार्यदल गठन गरी सरकार, सुरक्षा निकाय, युवा पुस्ता र सरोकारवालासँग प्रत्यक्ष संवाद गरेर स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न अन्तरिम सरकारलाई सहयोग गर्ने ।

२. व्यवसाय निरन्तरतालाई प्राथमिकतामा राखी लगानी र व्यवसाय सुरक्षाका लागि कानूनी कार्यान्वयन सुनिश्चित गर्ने, भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धनमा सहकार्य गर्ने, तथा सरकारी सेवाहरू व्यवसायीमैत्री बनाउन आग्रह गर्ने।

३. निजी क्षेत्रप्रति विद्यमान गलत धारणालाई सच्याउन सूचना तथा जनचेतना अभियान सञ्चालन गर्ने, र नव-युवाहरूको भावना अनुरूप पारदर्शिता र जवाफदेहिताको संस्कृतिलाई सुदृढ पार्ने ।

४. विगतका घटनाबाट सिक्दै पारदर्शी, नैतिक र जिम्मेवार व्यवसायिक अभ्यासलाई निरन्तरता दिने, पूँजी वृद्धि र सुशासनमार्फत समृद्ध नेपाल निर्माणको अभियानलाई बलियो बनाउने।

संयुक्त घोषणाले राष्ट्रिय सुरक्षा, स्थायित्व, पारदर्शिता र विश्वास पुनर्निर्माणलाई केन्द्रमा राख्दै स्वच्छ र निष्पक्ष निर्वाचनप्रति प्रतिबद्धता, भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्द्धन, विश्वास पुनर्निर्माणका लागि आत्मसमीक्षा र पारदर्शिता, व्यवसायिक सुरक्षाको सुनिश्चितता तथा दिगो आर्थिक स्थायित्वका लागि सहकार्य, संवाद र साझा जिम्मेवारीमार्फत राष्ट्र निर्माणमा योगदान पुऱ्याउने विषयहरूमा जोड दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully