आन्तरिक पर्यटकको रोजाइमा झिरुवासको काउलेडाँडा

कुनै समय वनमाराको झाडीले भरिएको काउलेडाँडामा २०६७ सालमा अम्रिसो खेती सुरु गरेपछि अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको हो ।

कार्तिक १७, २०८२

माधव अर्याल

Jhirubas' Kauledanda is a favorite among domestic tourists

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–३, झिरुवासस्थित काउलेडाँडा आन्तरिक पर्यटकको रोजाइ बनेको छ । कुनै समय वनमाराको झाडीले भरिएको काउलेडाँडामा २०६७ सालमा अम्रिसो खेती सुरु गरेपछि अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको हो ।

वडाध्यक्ष नवीन्द्र थापा सोतीका अनुसार दसैंपछि दैनिक कम्तीमा ५ सयले काउलेडाँडाको अवलोकन गरेका छन् । ‘अग्लो डाँडा, अम्रिसोको बगान, तराई, हिमाल र पहाड दुबैतर्फ मज्जाले देख्न पाइने भएकाले पर्यटक आउने गरेका हुन्,’ उनले भने, ‘यसले गर्दा यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुगेको छ ।’ पाल्पाका विभिन्न स्थानका साथै नवलपुर, नवलपरासी, चितवन, स्याङ्जा, तनहुँलगायतका जिल्लाबाट समेत समूहमा भ्रमणका लागि आउने गर्छन् । साथै वनभोजका लागि समेत आकर्षणस्थल बनेको छ ।

काउलेडाँडा कवुलियती वन अन्तरसमूहका अध्यक्ष दमनबहादुर थापा पाटाले तिहारलगत्तै एकै दिनमा २ हजार बढी पर्यटक आएको बताए । ‘यो वर्ष बेमौसमी वर्षा नभएको भए धेरै पर्यटक आउने अनुमान गरिएको थियो,’ उनले भने, ‘वर्षा भएपछि सडक बिग्रने र आउने डराउने गर्छन् ।’

Jhirubas' Kauledanda is a favorite among domestic touristsपर्यटकीय क्षेत्र भए पनि यहाँसम्म पुग्ने सडकको सहज पहुँच नहुँदा सास्ती खेप्नुपर्छ । काउलेडाँडामा २४६ हेक्टर क्षेत्रफलमा मानव श्रमबाट लगाइएको अम्रिसो रहेको छ । यहाँको मनोरम सुन्दर प्राकृतिक वातावरण अवलोकनका लागि दर्जनभन्दा बढी जिल्लाबाट पर्यटक आउने गरेको अध्यक्ष थापा पाटाले बताए ।

काउलेडाँडा घुम्न जाने पर्यटकले प्रतिव्यक्ति २० रुपैयाँ टिकट तिर्नुपर्छ । मोटरसाइकलको ५०, जीपको ५००, बसको १००० रुपैयाँ तिर्नुपर्ने उनले बताए । पिकनिकका लागि जीपमा आउनेलाई ३ सय र बसमा आउनेलाई ५०० अलग्गै लिने गरिएको उनले बताए ।

यहाँ पर्यटकको आकर्षण बढेपछि निस्दी गाउँपालिकाको सहयोगमा धार्केसिङ गाउँका ५ घरमा होमस्टे सुरुआत भएको छ । थप ६ घरमा विस्तार गरिएको उनले बताए । वनमाराले भरिभराउ झिरुवासको काउलेडाँडा वनलाई कवुलियति वनमा दर्ता गरेर यहाँ अम्रिसो खेती सुरु गरिएको थियो । सत्र वर्षअघि वनमाराले भरिभराउ थियो । पछिल्लो वर्षमा अम्रिसोले इलामको चियाबगानको झल्को मेटाउने रामपुरबाट काउलेडाँडा घुम्न पुगेका युवराज पन्तले बताए ।

‘ठाउँ अत्यन्त मनमोहक छ तर यहाँसम्म पुग्ने सडकले गर्दा समस्या व्यहोर्नु परेको छ,’ उनले भने, ‘साँघुरो अनि उकालो, कच्ची र अप्ठ्यारो सडक भए पनि पर्यटक पुग्न भने कमी देखिएन ।’

Jhirubas' Kauledanda is a favorite among domestic touristsकाउलेडाँडा क्षेत्रमा स्थानीयले गरेको मिहिनेतको अवलोकन गर्न सकिन्छ । अग्लो डाँडाबाट देखिने उत्तरका हिमाल र तराईका भू–भागसहित पहाडी मनोरम दृश्यावलोकनमा पर्यटक रमाउने गरेको स्थानीय अगुवा वीरबहादुर पाटा मगरले बताए । सडक पूर्वाधार निर्माण भएसँगै सवारी साधन पुग्ने भएकाले पनि पछिल्ला वर्षहरूमा घुम्न आउनेहरू बढेको उनले बताए ।

अम्रिसो खेतीबाट आम्दानी हुन थालेपछि यहाँका स्थानीयको जीवनशैलीमा समेत परिवर्तन हुँदै गएको पाटाले बताए । ‘सरकारको कवुलियति वन कार्यक्रमले काउलेडाँडा पर्यटकीय स्थल बन्यो,’ उनले भने, ‘समूहको आम्दानी भएको छ भने ठाउँको प्रचार पनि भएको छ ।’

काउलेडाँडा वनमा लगाइएको अम्रिसोबाट वार्षिक ६० लाखभन्दा बढी आम्दानी हुने गरेको छ । सुरुमा अम्रिसोको संरक्षणमा केही समस्या भए पनि पछिल्लो समय अम्रिसोबाट मनग्ये आम्दानी भइरहेको अन्तरसमूहले जनाएको छ ।

झिरुवास मगरबहुल गाउँ हो । मगर संस्कृतिको संरक्षण गर्दै काउले वनसँगै झिरुवास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै अघि बढाइएको यसका अगुवा लक्ष्मीप्रसाद पाटाले बताए । उनका अनुसार झिरुवासमा सुरु गरिएको अम्रिसो खेती फस्टाउँदै गएपछि छिमेकी मित्याल, सहलकोटका स्थानीयले पनि अम्रिसोको व्यवसायिक खेती गर्न थालेका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully