निर्माण क्षेत्र सम्याउनेदेखि मुढा निकाल्ने काम भइसकेको छ । निर्माण कम्पनीले भारतबाट निर्माण सामग्री र उपकरण भन्सार छुटमा ल्याउन आवेदन दिइसकेको छ ।
कञ्चनपुर — दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहको काम औपचारिक रूपमा सुरु हुन अझै केही समय लाग्ने भएको छ । विगतमा शिलान्यास गरेर काम सुरु गर्ने तयारी गरिए पनि अब भने शिलान्यासबिनै काम अघि बढाउन लागिएको हो ।
अहिले निर्माणस्थलमा कामदारका लागि चाहिने आवासलगायत संरचना निर्माण भइरहेको छ । निर्माण क्षेत्र सम्याउनेदेखि मुढा निकाल्ने काम भइसकेको छ । निर्माण कम्पनीले भारतबाट निर्माण सामग्री र उपकरण भन्सार छुटमा ल्याउन आवेदन दिइसकेको छ । उक्त आवेदन उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पठाइएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशका आशिष गजुरेलले बताए ।
‘निर्माण कम्पनीले निर्माण सामग्री र आवश्यक उपकरण सबै भारतबाटै ल्याउन भन्सार छुट मागेको छ,’ गजुरेलले भने, ‘त्यसको मास्टर लिस्ट (निर्माण सामग्री र उपकरणको विवरण) उद्योग मन्त्रालय हुँदै अर्थमा पुगेको छ ।’ यसका लागि अर्थ मन्त्रालयमा नियमित समन्वय भइरहेको उनको भनाइ छ ।
भन्सार छुटका लागि यसअघि पनि मास्टर लिस्ट पठाइएको थियो । अहिले नयाँ ढाँचा बनेकाले त्यसैअनुसार पुनः मास्टर लिस्ट पठाउन मन्त्रालयबाटै खबर आएपछि दोस्रो पटक पठाइएको छ । अहिले मास्टर लिस्ट पठाएको दुई साता भएको छ । अबको दुई साताभित्र मास्टर लिस्टअनुसार भन्सार छुटको निर्णय हुन सक्ने अनुमान गरिएको गजुरेलको भनाइ छ ।
‘निर्माण कम्पनीले नेपालबाटै निर्माण सामग्री खरिद गरेर काम गर्न चाहे अहिले नै पनि सुरु गर्न सक्छ,’ गजुरेलले भने, ‘अहिले शिलान्यास गर्ने कार्यक्रम स्थगित भएको छ, निर्माण सुरु गर्ने र उपयुक्त समयमा निर्माणाधीन अवस्थामै पनि शिलान्यास गर्न सकिनेछ ।’ विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी भइरहेको थियो । त्यही बेला दुवै देशका प्रधानमन्क्रीले संयुत्त रूपमा अनलाइनबाट शिलान्यास गरेर काम सुरु गर्ने तयारी भइरहेको थियो । तर २३ र २४ भदौको जेन–जी प्रदर्शनपछिको परिस्थितिमा अहिले तत्काल शिलान्यासको कुनै कार्यक्रम नरहेको गजुरेलको भनाइ छ ।
भारत सरकारको सहयोगमा निर्माण हुन सुक्खा बन्दरगाहका लागि कम्ट कन्स्ट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । साउनमा इन्टरमोडल यातायात विकास समितिले निर्माणका लागि साइड हस्तान्तरण पनि गरिसकेको छ । त्यही बेलादेखि निर्माण कम्पनीले विभिन्न काम गरिरहेको छ ।
निर्माण कम्पनीले आवश्यक उपकरण डोजरदेखि ढुवानीको साधन, सिमेन्ट, छडलगायत सबै सामग्री भारतबाटै ल्याउने भनेको छ । विगतमा भैरहवाको सुक्खा बन्दरगाह सुरु गर्दा पनि भारतबाटै भन्सार छुटमा सामग्री आएको गजुरेलले बताए ।
सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ मा रहेको गौरीशंकर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टरमा पर्ने १ हजार ७ सय २ रूख खाली गरिएको छ । अहिले २५ दशमलव ३ हेक्टरमा मात्रै संरचना निर्माण गरिनेछन् । उक्त क्षेत्रमा प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टिन घर र लोड, अनलोड सेड निर्माण गरिनेछ । साथै चारैतर्फ पर्खाल निर्माण गरिनेछ ।
निर्माणका बेला आवश्यक समन्वय गर्न इन्टरमोडल यातायात विकास समितिले दोधारा चाँदनीमै सम्पर्क कार्यालय राख्ने विषयमा पनि छलफल गरिरहेको छ । भारत सरकारको लगानीमा निर्माण हुने भएकाले उनीहरूकै अनुगमन रहने गजुरेलले जनाए ।
