हिमलुङमा अस्ट्रेलियाली पर्वतारोहीको मृत्यु, पानवारीमा २ इटालियन आरोही बेपत्ता

हिमलुङ हिमाल (७,१२६ मि) बाट फर्किने क्रममा कात्तिक १५ मा करिब ६ हजार १ सय मिटर उचाइमा हिउँको क्राभासमा खसेर उनको मृत्यु भएको पर्यटन विभागले जनाएको छ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Australian climber dies in Himlung, 2 Italian climbers missing in Panwari

काठमाडौँ — यस शरद ऋतुमा भएका दुई छुट्टाछुट्टै हिमाल आरोहण अभियानका क्रममा एक विदेशी पर्वतारोहीको मृत्यु र दुई जना पर्वतारोही बेपत्ता भएको पर्यटन विभागले आइतबार साँझ पुष्टि गरेको छ ।

पर्यटन विभागका अनुसार अस्ट्रेलियाली नागरिक श्चिन टर्क च्यान, जो एटके इन्टरनेसनल कम्पनीबाट हिमलुङ एक्सपेडिसनमा टोली  नेताका रूपमा गएका थिए, उनको मृत्यु भएको जनाएको छ ।

हिमलुङ हिमाल (७,१२६ मि) बाट फर्किने क्रममा कात्तिक १५ गते करिब ६ हजार १ सय मिटर उचाइमा हिउँको फाँट (क्राभास) मा खसेर उनको मृत्यु भएको विभागले जनाएको छ। मृतकको शव उद्धारका लागि पहल भइरहेको र सम्बन्धित एजेन्सीहरूसँग निरन्तर समन्वय जारी रहेको पनि जानकारी दिइएको छ।

त्यस्तै, अर्को घटनामा पानवारी हिमाल (६,८८५ मि) आरोहणका क्रममा दुई जना इटालियन नागरिक फर्रोनातो स्तेफानो र कापुटो एलेस्सान्द्रो २०८२ कात्तिक १५ गतेदेखि सम्पर्कविहीन भएको विभागले जनाएको छ। 

हिमालमा खराब मौसमका कारण उनीहरूसँग सम्पर्क हुन नसकेको र उद्धारका लागि सम्बन्धित आरोहण एजेन्सी र स्थानीय निकायहरूसँग समन्वय गरी खोज कार्य जारी रहेको विभागका निर्देशक हिमाल गैतमले जनाए । 

पर्यटन विभागले दुवै घटनाका बारेमा नजिकबाट अनुगमन भइरहेको र उद्धार तथा शव व्यवस्थापनका लागि सरोकारवाला निकायसँग निरन्तर सहकार्य भइरहेको जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully