समुद्री सतहबाट ४१ सय मिटरको उचाइमा रहेको पाँच पोखरी प्राकृतिक साथै धार्मिक रूपले आन्तरिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।
पाँच पोखरी — सिन्धुपाल्चोक जिल्लामा रहेको पर्यटकीय गन्तव्य पाँच पोखरी घुम्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।
हेलम्बु सेक्टर अन्तर्गत भोताङ पोस्ट सिन्धुपाल्चोकले दिएको सूचना अनुसार गत साउन महिना (आर्थिक वर्ष) बाट कात्तिक १३ गतेसम्ममा आन्तरिक पर्यटक ६ हजार १ सय ९१ जना साथै बाह्य पर्यटक ४४ जना गरी जम्मा ६ हजार २ सय ३५ जना पर्यटक भित्रिएको पोस्टले जनाएको हो ।
गत साउन महिनामा ११ सय १५, भदौ महिनामा ८ सय ५९, त्यसैगरी असोज महिनामा २४ सय ४६, कात्तिक महिनाको १३ गतेसम्ममा १७ सय ७१ जना आन्तरिक पर्यटक पदयात्राको लागि गएको देखिएको छ भने सार्क राष्ट्रका १६ तथा अन्य देशका गरी २८ जना पर्यटक आएको पोस्टले जनाएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार पाँच पोखरी जाने पदमार्गलाई व्यवस्थित गर्न सकेको खण्डमा अझ धेरै पर्यटक भित्राउने सकिने उनले बताए । ‘मुख्य गरेर पाँच पोखरीमा हामीले प्रकृतिमा आधारित (नेचुरल बेस) पर्यटन व्यवसायलाई प्रमोट गर्ने हो । प्राकृतिक सम्पदा खलबलिने किसिमले मानिसले कुनै पनि भौतिक संरचना बनाउन खोजेमा त्यसले प्राकृतिक सुन्दरतालाई ओझेलमा पार्न सक्छ,’ उनले भने, ‘भर्खरभर्खर पाँच पोखरीलाई पर्यटकले चिन्न थालेका कारण पदमार्ग (बाटो) को सुधार र व्यवस्थापन मुख्य विषय जस्तो लाग्छ ।’ पाँच पोखरी जाने पदमार्गमा धेरै कुराहरू सुधार गर्न आवश्यक रहेको र यसलाई राम्रो बनाउन सबैको हात रहेको तिवारीको भनाइ छ । शौचालय, होटल, बाटोघाटो, विश्राम स्थल, विद्युत्, सञ्चार धेरै कुराहरू बनाउन आवश्यक छ,’ उनले भने, ‘निकुञ्जलगायत स्थानीय पालिका, सरकारका निकायले समन्वयन गरेर त्यस क्षेत्रको विकास गर्नुपर्छ । सुधार र पहल गर्दै लाने कुरा हो ।’
समुद्री सतहबाट ४१ सय मिटरको उचाइमा रहेको पाँच पोखरी प्राकृतिक साथै धार्मिक रूपले आन्तरिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । पाँच पोखरीमा हरेक वर्ष एकादशीदेखि जनैपूर्णिमासम्म मेला लाग्ने भएका कारण अन्य समयभन्दा धेरै तीर्थालु नेपालका विभिन्न स्थानबाट आउने र त्यस समय निकै भीड लाग्ने एक होटल व्यवसायीले बताए ।
नेपाल भ्रमण (भिजिट नेपाल) वर्ष २०२० मा पर्यटकीय गन्तव्यको १६ औं स्थानमा पाँच पोखरीलाई समावेश गरिएको थियो । पाँच पोखरीबाट लाङटाङ, दोर्जे लाक्पा, जुगल हिमाललगायतका हिमशृंखलाहरू अवलोकन गर्न सकिन्छ ।
पदयात्राको लागि छिम्ती हुँदै देउराली, टुप्पीडाँडा, टपखर्क, नोरसिन्गपाटी, सात घुम्ती, लौरीबिनाको उकाली हुँदै पाँच पोखरी पुगिन्छ । भैरव कुण्ड, सरस्वती कुण्ड,गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी फरक फरक नामले समेत पाँच पोखरीलाई चिनिन्छ ।
