उद्योगहरुमा विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

उद्योगहरुको विद्युत् लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू बन्द हुन पुगेको र यसबाट हजारौँ रोजगारी संकटमा परेको भन्दै उनले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

The problem of power cuts in industries must be resolved immediately: Chairman Dhakal

What you should know

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरुमा विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत् लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू बन्द हुन पुगेको र यसबाट हजारौँ रोजगारी संकटमा परेको भन्दै वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे ।

उनले लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति बेहोर्नु परेको, औद्योगिक उत्पादन, निर्यात र मुलुकको समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको बताए । विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्न सरकारसंग आग्रहसमेत गरे ।

अध्यक्ष ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्नु आजको आवश्यकता भएको बताए ।उनले जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले औद्योगिक सुरक्षाको अभाव देखिएको, लगानीकर्तामा भय पैदा गरेको र लगानीकर्ताले आत्मविश्वास कमजोर भएको बताए ।

अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्न सकिएन भने देशमा लगानी आउने नभई भएको पूँजीसमेत पलायन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे । 'आन्तरिक र बाह्य लगानीको लागि उद्योगी–व्यवसायीले सुरक्षित महसुस गर्ने वातावरण आवश्यक छ,' उनले भने, 'देशमा रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने निजी क्षेत्र हरेक आन्दोलनका समयमा आक्रमणको सिकार हुनु दुखःद् हो । निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक छ । र यसको लागि सरकारले उचित पहल गर्नु पर्दछ ।'

सरकारले औद्योगिक सुरक्षा तथा क्षतिग्रस्त उद्योगहरूको पुनर्निर्माण लगायतका विषय गरेका निर्णयहरु सराहनीय रहे पनि नीति कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार गर्नु पर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

उनले  सरकारले अनुकूल व्यावसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न सरकारको निर्णयको महासंघले स्वागत गरेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully