कतिपय किसानले बालीसमेत भित्र्याउन नपाएकाले मंसिरको पहिलो सातादेखि मात्र धान खरिद सुरु हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
What you should know
पर्सा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष वीरगन्जमा १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।
शाखाका सूचना अधिकृत मुनिलाल कुशवाहाका अनुसार १० हजार क्विन्टल धान खरिदको कोटा शाखालाई दिइएको छ ।
‘पहिलो चरणमा १० हजार क्विन्टल धान खरिदको कोटा पाइएको छ,’ उनले भने, ‘बढी धान आए खरिद कोटा थपिन पनि सक्छ ।’ हाल वर्षा भएको र कतिपय किसानले बालीसमेत भित्र्याउन नपाएकाले मंसिरको पहिलो सातादेखि मात्र धान खरिद सुरु हुने सम्भावना रहेको उनले बताए ।
यस वर्ष पनि शाखाले सोना मन्सुली र जिरा मसिनो धान खरिद गर्ने योजना रहेको कुशवाहा बताउँछन् । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गर्नेछ ।
जिरा मसिनो धानको खरिद मूल्य प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्नेछ ।
गत वर्ष शाखाले ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर निजी क्षेत्रबाटै राम्रो मूल्य पाएपछि शाखामा लक्षित परिमाणमा धान बिक्री गर्न आएनन् । गत वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको लक्ष्य शाखाको थियो ।
सामान्यतया खाद्यले धान खरिद सुरु गर्नुअघि यस भेगमा निजी क्षेत्रले धान खरिद सुरु गरिसक्छन् । निजी क्षेत्रले सरकारले तोकेको समर्थन मूल्यभन्दा बढी मूल्य दिएपछि किसानले खाद्यलाई भन्दा निजी क्षेत्रलाई धान बिक्री गर्न रुचाउँछन् ।
