भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८२.६१ मेगावाट विद्युत् निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको छ ।
What you should know
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले २८२.६१ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८२.६१ मेगावाट विद्युत् निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नविकरण भएको हो ।
उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नविकरण स्वीकृति भएको छ । २४.२५ मेगावाटको अप्पर दोर्दी ए, १९.४ मेगावाटको लोअर मोदी, २४.२५ मेगावाटको काबेली बी–१ र ३४.९२ मेगावाटको अप्पर बलेफी जलविद्युत् आयोजनाको निर्यात अनुमति नविकरण गरिदिएको हो ।
द्धिपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० विद्युत् बिक्री भइरहेको थियो । हरियाण राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (आज) सकिदैछ ।
प्राधिकरणले हरेक वर्ष जुन-अक्टोबरमा हरियाणलाई विद्युत बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत् बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आईएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट आईएक्समा समेत निरन्तर रुपमा बिक्री गर्न पाउने भएको छ ।
प्राधिकरणका अनुसार ५०.८९ मेगावाटको लिखु-२, ८० मेगावाटको लोअर सोलु, २८.२ मेगावाटको लिखु खोला ए र २०.७ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको अनुमति नविकरण गरेको हो ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनआइएसएको आठौं सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरसँगका भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए ।
उनले नेपालमा विद्युत उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन समेत आग्रह गरेका थिए ।
