बैठक अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीले राजस्व प्रणालीका वर्तमान अवस्थाबारे जानकारी दिएका थिए ।
काठमाडौँ — राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थमन्त्री रामेश्वर खनालले निर्देशन दिएका छन् । बिहीबारको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री खनालले उक्त निर्देशन दिएका हुन् ।
बैठक अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीले राजस्व प्रणालीका वर्तमान अवस्थाबारे जानकारी दिएका थिए । बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने, राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास र सबै निकायहरुबीच सूचनाको आदान प्रदान गर्ने निर्णय भएको छ ।
यस्तै, जिल्लास्तरमा सचेतना कार्यक्रम आयोजना गर्ने, समितिका आगामी बैठकहरु अन्य कार्यालयहरु/निकायहरुमा गर्ने र जिल्लास्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई पनि अनलाइनमा जोडेर संयुक्त रुपमा गर्ने व्यवस्था मिलाउन अर्थमन्त्री खनालले निर्देशन दिएका छन् ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक–नेपाल प्रहरी, महानिरीक्षक–सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक–राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक–भन्सार विभाग, महानिर्देशक–आन्तरिक राजस्व विभाग, महानिर्देशक–राजस्व अनुसन्धान विभाग, महानिर्देशक–सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतको उपस्थिति थियो ।
