व्यवसायी संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्ने दुष्प्रयास भइरहेको जनाएको छ ।
What you should know
काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाले निर्धारण गरेको १० वटा मापदण्डप्रति असहमति जनाउँदै मलेसियाको रोजगारी सधैंका लागि बन्द गराउने बाटोमा जान बाध्य नपार्न चेतावनी दिएको छ ।
व्यवसायी संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्ने दुष्प्रयास भइरहेको जनाएको छ । मलेसियाले मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्न उचित संख्यामा म्यानपावर कम्पनी छनोट गर्न नेपालसहित ५ वटा देशको म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेको थियो । त्यस मापदण्डअनुसार सिफारिस गर्न स्रोत देशहरुलाई कात्तिक २७ गतेको समयसीमा तोकेको छ ।
‘मलेसियन सरकारको उक्त निर्णय र प्रस्तावले नेपाललगायत स्रोत मुलुकमा सिन्डिकेट स्थापना गर्ने र केही सीमित व्यक्तिहरूको पक्षपोषण गर्ने/गराउने स्पष्ट संकेत दिएको छ । जसले निष्पक्ष र स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता र समान रोजगारीका अवसरलाई कुल्चेर पेसा/व्यवसाय गर्न पाउने मौलिक अधिकार तथा नेपालको संविधान र कानुनले बन्देज गरेको एकाधिकार बजार बनाउने देखिन्छ,’ अध्यक्ष भुवन गुरुङले भने,‘नेपालबाट इजाजत प्राप्त व्यवसायीहरू कानुनी प्रक्रिया, सरकारी नीतिहरू र पारदर्शी अभ्यासमार्फत वैदेशिक रोजगार क्षेत्रमा संलग्न छन् ।’
महासचिव महेश बस्नेतका अनुसार एकाधिकार बजार बनाएर नेपाली श्रमिकहरूलाई आर्थिक भार थप्ने षड्यन्त्रले सम्पूर्ण व्यवसायीहरूमा स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने व्यावसायिक अधिकार, श्रमिकको श्रम अधिकार र नेपाल सरकारको श्रम नीतिलाई समेत कमजोर बनाउनेछ ।
‘मलेसियाबाट आएका वा नेपालभित्रै विभिन्न नाम, रूप र शैलीमा प्रस्तुत भइरहेका यस्ता सिन्डिकेटधारीहरूका प्रस्ताव वा सम्झौताहरूमा सहभागी हुने, समर्थन गर्ने वा सहमति जनाउने कुनै पनि निकाय, व्यक्ति, व्यवसायी, संस्था वा समूहलाई संघले आवश्यक ठानेको जुनसुकै निर्णय लिन वा कारबाही गर्न पछि हट्ने छैन,’ उनले भने ।
संघले श्रम र परराष्ट्र मन्त्रालयको समेत विशेष ध्यानाकर्षण गराउँदै सिन्डिकेट प्रवृत्तिलाई कुनै पनि रूपमा स्वीकृति नदिन अनुरोध गरेको छ । ‘हामी सम्पूर्ण म्यानपावर व्यवसायीलाई सजग रहन, यस्ता सिन्डिकेटधारीहरूको गतिविधि नजिकबाट नियाल्न, प्रमाण संकलन गर्न र आवश्यक परेमा संघर्षका लागि तयार रहनसमेत आह्वान गर्दछौं,’महासचिव बस्नेतले भने,‘निष्पक्ष, पारदर्शी, स्वस्थ प्रतिस्पर्धात्मक र श्रमिक हितमैत्री वैदेशिक रोजगारी प्रणालीको पक्षमा अडिग छ र भविष्यमा पनि यस्ता गलत प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिरहनेछ ।’
