हिमपातयुक्त मौसममा व्यावसायिक हेलिकोप्टर उडान निषेध

लोबुचे हेलिकोप्टर दुर्घटनापछि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ वटा नयाँ सुरक्षा मापदण्ड लागू गरेको छ ।

कार्तिक १३, २०८२

सुरज कुँवर

Commercial helicopter flights prohibited in snowy weather

What you should know

काठमाडौँ — लोबुचे क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका सबै हेलिकोप्टर सेवा प्रदायक कम्पनीलाई लक्षित गर्दै कडा सुरक्षा सिफारिस र मापदण्ड जारी गरेको छ ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार बिहीबार प्राधिकरणले नेपालमा भएका सबै हेलिकोप्टर कम्पनीका पाइलट, सञ्चालक र प्रतिनिधि सहभागी छलफलमा पछिल्ला घटनाहरूले देखाएको जोखिम र उच्च हिमाली क्षेत्रमा बढ्दो हेलिकोप्टर गतिविधिलाई दृष्टिगत गर्दै नयाँ सुरक्षा कदम अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको  हो ।

नियमनकारी निकाय प्राधिकरणले सेताम्य हिउँयुक्त हावापानी (व्हाइट आउट) वा कुहिरोमा व्यावसायिक उडान निषेध गरेको छ । 

सगरमाथा आधार शिविर नजिकै रहेको लोबुचेमा बुधबार अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको थियो । लुक्लाबाट विदेशी पर्यटक लिन गएको हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको थियो ।

सो घटनापछि प्राधिकरणले ह्वाइट आउटमा हुने गाढा कुहिरोको समयमा कुनै पनि व्यावसायिक उडान सञ्चालन नगर्न निर्देशन दिएको छ । यस्तो मौसममा दृश्यता (भिजिबिलिटी) अत्यन्तै कमजोर हुने भएकाले हेलिकोप्टर पाइलटहरूले उडान दिशा, भौगोलिक स्थिति र अवतरण स्थल ठ्याक्कै पहिचान गर्न कठिन हुन्छ । यसले पाइलट, यात्रु र सम्पूर्ण उड्डयन सुरक्षामा गम्भीर जोखिम निम्त्याउने भएकाले यस्ता अवस्थामा उडान पूर्ण रूपमा निषेध गरिएको हो ।

त्यसैगरी हिउँ पर्ने क्षेत्रमा हेलिकोप्टर स्किड (वियर पज) मा अनिवार्य राख्नुपर्नेछ । हिउँले ढाकिएका वा चिप्ला सतह भएका हिमाली क्षेत्रमा सञ्चालन हुने सबै हेलिकोप्टरका स्किडमा वियर पज (सुरक्षा प्लेट) जडान गर्नुपर्ने निर्णय गरिएको छ ।

यो उपकरणले हिउँमा अवतरण गर्दा हेलिकोप्टरको तौल समान रूपमा वितरण गर्न सहयोग पुर्‍याउँछ, जसले हेलिकोप्टर चिप्लिने, धसिने, असन्तुलन हुने वा पल्टिने सम्भावना घटाउँछ । हिउँदको मौसममा हुने दुर्घटनाहरूलाई कम गर्न यसलाई अनिवार्य सुरक्षा उपकरणको रूपमा घोषणा गरिएको छ ।

त्यस्तै, उच्च हिमाली उडानहरूमा ग्राउन्ड मार्सलरको व्यवस्था पनि अनिवार्य ग्रेन अपरेटरलाई भनिएको छ । उच्च उचाइका स्थानहरू विशेष गरी सगरमाथा, अन्नपूर्ण, मुस्ताङ, मनाङ जस्ता पर्यटकीय क्षेत्रमा बारम्बार हुने हेलिकोप्टर उडानहरूको सुरक्षाका लागि प्रत्येक उडानमा ग्राउन्ड मार्सलर ( अवतरण गराउने सहयोगी) तोक्न सिफारिस गरिएको छ ।

मार्सलरले अवतरण र उडानका क्रममा पाइलट र जमिनबीच समन्वय गर्ने, यात्रुहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने र ग्राउन्ड मा खतराजन्य वस्तु व्यवस्थापन गर्ने जिम्मेवारी वहन गर्न सहयोग गर्छन् । यस कदमले उच्च हिमाली क्षेत्रमा हुने अव्यवस्थित सञ्चालनलाई व्यवस्थित बनाउने र मानविय त्रुटि घटाउने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, हिउँले ढाकिएका हेलिप्याडहरू पूर्ण रूपमा सफा गराएर मात्रै सञ्चालन गर्नुपर्नेछ । हेलिप्याड क्षेत्रमा हिउँ जमेको वा परेका वस्तुहरू रहेको अवस्थामा कुनै पनि उडान सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।

उडानअघि हेलिप्याड र यसको वरिपरि रहेको सम्पूर्ण क्षेत्र पूर्ण रूपमा सफा र स्थिर बनाइनुपर्ने, अन्यथा हेलिको रोटर ब्लेडमा टुक्रा ठोक्किने, हावाको असन्तुलन हुने वा हेलिकोप्टर नियन्त्रण गुम्ने जोखिम रहने बताइएको छ ।

यी सबै मापदण्ड हेलिकोप्टर कम्पनीहरू एयर डायनेस्टी हेली सर्भिस, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकोप्टर्स, फिसटेल एयर, हेली एभरेस्ट, कैलाश हेलिकोप्टर्स, मनाङ एयर, माउन्टेन हेलिकोप्टर्स, मुस्ताङ हेलिकोप्टर, प्रभु हेलिकोप्टर, श्री एयरलाइन्स र सिम्रिक  एयरलाई औपचारिक रूपमा बिहीबारै पठाइएको छ ।

सहप्रवक्ता भुलले सुरक्षा नियमहरूको कडाइका साथ पालनाले मात्र हिमाली उडानको विश्वसनीयता र यात्रुहरूको जीवन सुरक्षा सुनिश्चित गर्न सकिने जनाए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully