विद्युत् कटौतीपछि ३५ सय कामदार बिदामा राखी रिलायन्स उद्योग बन्द

नेपालका ३ हजारभन्दा बढी कपडा उद्योगलाई रिलायन्सले धागो उपलब्ध गराउँदै आएको छ । वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको धागो भारत र तेस्रो देशमा निर्यात गर्दै आएको छ । तर, उद्योग ठप्प हुँदा उत्पादन शून्य छ ।

कार्तिक १०, २०८२

पर्वत पोर्तेल

Reliance Industries closes, 3,500 workers put on leave after power outage

What you should know

विराटनगर — डेडिकेटेड फिडर एवम् ट्रंकलाइन बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटिएपछि सुनसरीको इटहरी उपमहानगर–१२ खनारमा रहेको देशकै ठूलो रिलायन्स स्पिनिङ मिल्स एक सातायता उत्पादन ठप्प छ । प्राधिकरणले कात्तिक ४ मा उद्योगको विद्युत् लाइन काटेको हो ।

२०५१ सालमा सुरु गरिएको रिलायन्स स्पिनिङ मिल्समा झन्डै ३५ सयभन्दा बढी कामदारले रोजगारी पाएको छ । अत्याधुनिक प्लान्ट रहेको उक्त उद्योगले दैनिक एक सय टनभन्दा बढी उत्पादन गर्दै आएको छ ।

उद्योगले टर्कीदेखि जापानसम्म धागो निर्यात गरिरहेको कम्पनीले जनाएको छ । सधैं गुल्जार रहने उद्योग बिजुली काटिएपछि सुनसान छ । ‘बिजुली काटिएपछि उद्योग चलाउन सक्ने अवस्था नै छैन,’ उद्योगका प्रबन्धक महेश पोखरेलले भने, ‘बिजुली नजोडिएसम्म उद्योग चल्ने स्थिति छैन ।’

Reliance Industries closes, 3,500 workers put on leave after power outage

प्राधिकरणले ७५ करोड रुपैयाँ बक्यौता रहेको भन्दै विद्युत् लाइन काटेको छ । ‘हामीमाथि जबर्जस्ती ७५ करोडको बिल थोपरेको हो,’ उद्योगका प्रबन्धक पोखरेलले भने, ‘मासिक ६ करोड रुपैयाँ तिर्दै आएका थियौं तर अब अन्धकारमा बस्नुपरेको छ ।’

उद्योग ठप्प भएपछि ३५ सय कामदार ‘बिदामा’ राखिएको कम्पनीले जनाएको छ । उत्पादन नहुँदा निर्यात पनि ठप्प भएको छ । ‘मासिक ६ करोड त बिजुलीको मासिक बिल तिरिरहेका थियौं । निर्यातबापत देशमा डलर पनि भित्रिरहेकै थियो’, प्रबन्धक पोखरेलले भने, ‘बिजुली काट्दा राज्यलाई नै घाटा भएको छ ।’ 

नेपालका ३ हजारभन्दा बढी कपडा उद्योगलाई रिलायन्सले धागो उपलब्ध गराउँदै आएको छ । वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको धागो भारत र तेस्रो देशमा निर्यात गर्दै आएको छ । तर, उद्योग ठप्प हुँदा उत्पादन शून्य छ । 

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully