स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ ।
काठमाडौँ — पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौं) ले जेन-जी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ ।
गत भदौ २३ र २४ गते होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनःनिर्माणपछि सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।
'आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्ण रुपमा बन्द छ,' होटलले भनेको छ, 'हाल क्षतिको पूर्ण मूल्याङ्कनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।' स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ ।
आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ ।
