घटनामा संलग्नहरुको जाहेरी नै नलिएको गुनासो आइरहेकाले यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
What you should know
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ ।
घटनामा संलग्नहरूको जाहेरी नै नलिएको सदस्यहरूबाट गुनासो आइरहेको हुँदा यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
उक्त घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमै नकारात्मक असर पारेको महासंघले जनाएको छ । ‘घटनाका दोषीहरू माथि जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीहरूबाट जानकारी प्राप्त भइरहेको र यस्तो अवस्था कायम रहे यसले दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवर्द्धन र समग्र अर्थतन्त्रमै दीर्घकालीन असर पार्नेछ ।’
महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला–नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ ।
औपचारिक आग्रह गर्दै महासंघले गृह मन्त्रालयमा पत्राचार समेत गरिसकेको समेत जनाएको छ । सबै तहमा सरकार–निजी क्षेत्र समन्वय र मुख्यगरी जिल्ला स्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यवसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले समितिमा आफ्नो र सदस्य संघहरूको सहभागिताका लागि आग्रह गरेको हो ।
आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा समिति/फोरमका सभापतिहरू सम्मिलित छलफलमा महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले शान्ति–सुरक्षा नभई स्थायित्व नहुने, स्थायित्व नभई उद्यम–व्यवसाय सञ्चालन हुन नसक्ने र उद्यम–व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने भएकाले व्यवसायीको शान्ति–सुरक्षा अपरिहार्य शर्त रहेको बताए ।
दण्डहीनता अन्त्य गरी भविष्यमा पनि उद्यम–व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गरिनु पर्ने उनको भनाइ छ । समाजमा थप अन्योल र अनिश्चितताको वातावरण बन्न नदिन र दण्डहीनताको अन्त्यका लागि दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने उनले सुनाए ।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना गर्न निजी क्षेत्रले सरकारको सक्रियता अपेक्षा गरेको बताए ।
अहिलेको अवस्थामा शान्ति–सुरक्षा कायम गरी स्थायित्वतर्फ लैजान र उद्योगी–व्यवसायीहरूको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उनले सुनाए ।
