अलैँचीको मूल्य प्रतिक्विन्टल २ लाख ३५ हजार पुग्यो

मेची भन्सारबाट आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ६७ करोडको निर्यात 

कार्तिक ९, २०८२

आनन्द गौतम

Cardamom price reaches Rs. 235,000 per quintal

ताप्लेजुङ — अलैँचीको मूल्य प्रति क्विन्टल दुई लाख ३५ हजार पुगेको छ । पहाडमा प्रति मन (४० किलोको एक मन) र झापाबाट भारत निर्यात गर्दा बोरा (एक बोरामा ५० किलो) का हिसाबले निर्यात हुने अलैँचीको यो बढ्दो मूल्य हो । 

तेह्रथुमको संक्रान्ति बजारका अलैँची व्यवसायी खेम सङ्ग्रौलाले आइतबार चलन चल्तीको अलैँची ९४ हजार प्रतिमनले कारोबार भइरहेको जानकारी दिए । ताप्लेजुङ सदरमुकाम फुङलिङमा ९३ हजार प्रतिमनले कारोबार भइरहेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मी बताउँछन् ।

ताप्लेजुङ र पाँचथरका व्यवसायीहरूले भने झापासम्म पुर्‍याउने भाडा घटाएर किसानसँग खरिद गर्ने गरेका छन् । अहिलेको मूल्य अनुसार एक किलोको २ हजार ३ सय ५० रुपैयाँ पर्छ । उता मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार बराबरको अलैँची निर्यात भएको छ ।

तीन महिनामा १ हजार ७२ मेट्रिकटनको अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ को यो अवधिमा एक अर्ब सात करोड २२ लाख रुपैयाँबराबरको अलैँची निर्यात भएको थियो ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully