गोदावरी पुष्प मेलामा एक करोड ३३ लाख रुपैयाँको कारोबार

प्रदर्शनी ३९ हजारभन्दा बढीले अवलोकन गरेका थिए भने एक करोड ३३ लाख बढीको कारोबार भएको जनाइएको छ । 

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Business worth Rs 13.3 million at Godavari Flower Fair

काठमाडौँ — ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतबार सकिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको सो प्रदर्शनीलाई ३९ हजारभन्दा बढीले अवलोकन गरेका थिए भने एक करोड ३३ लाख बढीको कारोबार भएको जनाइएको छ । 

मेलाको अन्तिम दिन आइतबार मात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले बताए । मेलामा विशेष गरी गोदावरी, सयपत्रीको लगायत सिजनेबल फूल तथा बोटबिरुवाहरुको कारोबार बढी गरिएको बताउँदै फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले फूल पारखीहरुको संख्या बढ्दै गएको बताए । बर्सेनि गर्ने मेलाका कारण व्यवसायी र उपभोक्ताबीच थप सम्बन्ध बिस्तार भइ फार्म र पसलहरुमा उपभोक्ताहरु बढ्दै गएको अनुभव व्यवसायीहरुको छ ।  

आर्थिक मन्दी र तरल राजनीतिक अवस्थाका बाबजुद पनि अवलोकनकर्ताहरुको घुइँचो बढेकाले आफूहरु उत्साहित भएको फ्यानका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङले बताए । मेलाको स्थान गत वर्षको भन्दा फराकिलो र थप व्यवस्थित भएकाले पनि अवलोकनकर्ता सन्तुष्ट भएको उनको दाबी छ ।  

मेलामा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु राखिएका थिए । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाइडर र इनकर्भ) मा प्रतिस्पर्धा गरिएको थियो । 

प्रदर्शनीमा पुरस्कृत हुनेमा प्रथम सम्झना नर्सरी, दोस्रो माई नर्सरी र तेस्रो आजिमा नर्सरी रहेका छन् । त्यसैगरी उत्कृष्ट क्याटेगोरी अन्तर्गत बेस्ट रिफ्लेक्समा माई नर्सरी, बेस्ट मिनियचर सम्झना नर्सरी, बेस्ट इन्कर्भमा आजिमा नर्सरी, बेस्ट मेन्टेनेन्समा सम्झना नर्सरी, बेस्ट कट फ्लावरमा नवसेवा नर्सरी र बेस्ट स्टलमा दीक्षा नर्सरीले उत्कृष्ट पुरस्कार पाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully