बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोडिँदै

बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि रमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

6 contracts of Babai Irrigation Project being terminated

काठमाडौँ — ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ ।

बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि रमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । 

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमान्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायत काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो । कुल ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति छ ।

ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मातहतका निकायलाई निर्देशन दिएका थिए । आयोजनाले पटक–पटक सूचना प्रकाशन गर्दासमेत सम्झौताबमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदिएको जनाएको छ ।

ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भए १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

पेस गरिएका प्रमाण नियमसम्मत भरपर्दो वा चित्तबुझ्दो नभए सम्झौता र सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम कार्यसम्पादन जमानत तथा धरौटीबापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ । सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिन बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully