चीनमा निगमको ११औं गन्तव्य
What you should know
काठमाडौँ — नेपाल वायुसेवा निगमले आफ्नो अन्तर्राष्ट्रिय उडान विस्तार योजनाअन्तर्गत शुक्रबार काठमाडौं–ग्वाङझाउ–काठमाडौं उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
पहिलो व्यावसायिक उडानमै यात्रुको उत्साहजनक उपस्थिति देखिएको निगमले जनाएको छ । निगमद्वारा जारी गरिएको विज्ञप्तिअनुसार बिहीबारमा सम्पन्न आरए–४१७ नम्बरको पहिलो नियमित व्यावसायिक उडानमा १ सय ३८ जना यात्रु थिए । तीमध्ये २७ नेपाली, २९ चिनियाँ, ६१ जना भारतीय र अन्य २२ देशका विदेशी नागरिक रहेका थिए । विमानमा ६ बिजनेस क्लास र १ सय ३२ इकोनोमी क्लासका यात्रु थिए ।
त्यस्तै, शुक्रबार सम्पन्न ग्वाङझाउ–काठमाडौं उडानमा ७८ जना यात्रुसहितको विमान सफलतापूर्वक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
आगामी बिहीबारको काठमाडौं–ग्वाङझाउ उडानका सबै सिट बुक भइसकेका छन् भने शुक्रबारको ग्वाङझाउ–काठमाडौं उडान पनि पूरा यात्रुसहित सञ्चालन हुने विश्वास निगमले व्यक्त गरेको छ ।
निगमले नयाँ गन्तव्यको बजार प्रवर्द्धनका लागि ट्राभल एजेन्सी र सरोकारवाला निकायहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार ग्वाङझाउ नेपाल वायुसेवा निगमको चीन ११औं गन्तव्य बनेको हो । उनले यो रुटमा विद्यार्थी, व्यापारी र पर्यटकको आकर्षण रहने भएकाले बजारको ठूलो सम्भावना रहेको बताए ।
हाल यो रुटमा चाइना साउदर्न एयरलाइन्सले नियमित उडान गर्दै आएको छ । निगमले उडान सञ्चालन गरेपछि यो सेक्टरमा प्रतिस्पर्धा बढ्ने र यात्रुहरूलाई थप विकल्प उपलब्ध हुने निगमको अपेक्षा छ ।
ग्वाङझाउ उडान यसअघि सुरु गरिएको साउदी अरेबियाको दमाम उडानपछि कार्यकारी अध्यक्ष अधिकारीको नेतृत्वमा थपिएको अर्को अन्तर्राष्ट्रिय गन्तव्य हो । उनको कार्यकालमा निगमले नयाँ अन्तर्राष्ट्रिय गन्तव्य थप्ने, पुराना रुट पुनःसञ्चालन गर्ने र व्यावसायिक छवि पुनर्स्थापना गर्ने लक्ष्यसहित उडान विस्तार अभियान अघि बढाइएको बताए ।
चार वर्षे कार्यकालको अन्त्यमा पुगेका अध्यक्ष अधिकारी आगामी सात दिनपछि निगमबाट बिदाइ हुन लागेका छन् । उनले आफ्नो कार्यकालमा निगमले लगातार नयाँ गन्तव्य थप्दै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाउने प्रयास गरेका थिए । जसमा उनी आंशिक सफल देखिएका छन् ।
नेपाल वायुसेवा निगमको स्थापना २०१५ सालमा भएको हो । सुरुवाती समयमा निगमसँग एउटा डग्लस डीसी–३ विमान मात्र थियो । त्यसपछि विस्तारै अन्तर्राष्ट्रिय उडानहरू सुरु गर्दै निगमले थाइल्यान्ड, हङकङ, मलेसिया, कतार, दुबई, जापान, भारतलगायतका गन्तव्यमा उडान भरेको थियो ।
हाल निगमसँग एयरबस ए३२० र ए३३० विमान अन्तर्राष्ट्रिय रुटका लागि सञ्चालनमा छन् भने आन्तरिक उडानमा दुइटा ट्विनअटर विमानहरूले देशभित्रका दुर्गम स्थानहरूमा सेवा दिइरहेका छन् ।
ग्वाङझाउ उडान सुरु भएपछि निगमले चिनियाँ पर्यटक, विद्यार्थी र व्यापारीहरूलाई आकर्षित गर्ने रणनीति लिएको छ । यसले नेपाल र दक्षिण चीनबीच पर्यटन, व्यापार र जनस्तरको सम्पर्क विस्तारमा मद्दत गर्ने निगमको विश्वास छ । ‘प्रारम्भिक प्रतिक्रियाहरू निकै सकारात्मक छन्,’ निगमका प्रवक्ता मनोजकुमार साहले भने,’हामी चीनमा नेपालको हवाई उपस्थिति अझ सुदृढ बनाउँदै लैजानेछौं ।’
