नेप्सेको ओरालो यात्रा रोकिएन, २२.५८ अंकले घट्यो

कारोबारमा आएका मध्ये ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको घट्यो, ५ कम्पनीको स्थिर 

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

NEPSE's downward journey did not stop, it fell by 22.58 points

What you should know

काठमाडौँ — नेप्सेको घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार १९.४३ अंकले घटेर बन्द भएको नेप्से बुधबार २२.५८ अंकले घटेको हो । अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ५.५८ विन्दुमा ओर्लेर बन्द भएको छ । 

बुधबार कारोबारमा आएकामध्ये ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीका घटेको छ भने ५ को स्थिर रह्यो । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी धेरै भएपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।

बुधबार ३५ हजार ७ सय ५० पटकको कारोबारमा ७६ लाख ११ हजार ६ सय ६० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । 

मंगलबार ३८ हजार ८ सय २७ पटकको कारोबारमा ७४ लाख ८८ हजार २ सय ७३ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष उपसमूहको परिसूचक सामान्य बढ्यो । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । सो दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी २.०९ प्रतिशतले घटेको छ ।

बैंकिङ उपसमूहको परिसूचक ०.५४, विकास बैंकको १.१४, फाइनान्स कम्पनीको १.१०, होटल तथा पर्यटनको १.०६, जलविद्युत्को १.१८, लगानीको ०.९८, जीवन बिमाको ०.७५, उत्पादन तथा प्रशोधनको ०.३९, लघुवित्तको ०.५६, निर्जीवन बिमाको ०.६५ र अन्यको १.२२ प्रतिशतले घटे । तर, सामूहिक लगानी कोष उपसमूहको परिसूचक भने ०.२४ प्रतिशतले सकारात्मक छ ।

बुधबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ६.९३ प्रतिशतले बढ्यो । तर, समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यवासिनी जलविद्युत् कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतका दरले घटे । सो दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । यो कम्पनीको २० करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेयर बजार घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) करिब ३८ अर्ब रुपैयाँले खुम्चिएको छ । मंगलबार ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबार ४१ खर्ब ८८ अर्ब कायम भएको छ ।

कान्तिपुर

Link copied successfully