आगामी एक वर्षका लागि प्राविधिक शिक्षा तथा तालिमको क्षेत्र सहकार्य गर्नेगरी तीनवटै परियोजनाहरुसँग बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ ।
What you should know
विराटनगर — उद्योग तथा व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन र विकास गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र स्वीस सरकारअन्तर्गत सञ्चालित ईन्स्योर परियोजना, एनभीक्यूएस तथा क्वालिटी परियोजनाबीच सहकार्य हुने भएको छ ।
आगामी एक वर्षका लागि प्राविधिक शिक्षा तथा तालिमको क्षेत्र सहकार्य गर्नेगरी तीनवटै परियोजनाहरुसँग बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ ।
सम्झौताअनुसार तालिम प्रदायक शैक्षिक संस्था र औद्योगिक प्रतिष्ठानहरूको सहकार्यमा औद्योगिक प्रशिक्षार्थी तालिम, उद्योगमा कार्यरत मानव संशाधनका लागि सीप स्तरोन्नति तालिम, मानव स्रोत व्यवस्थापन, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रवर्द्धन, पूर्वसिकाई मान्यता प्रणाली, सीप उत्सव, विजनेस एट स्कुल, कार्वन फुट प्रिन्ट एसेस्मेन्ट, तालिमका प्रशिक्षकहरुका लागि व्यवहारिक कक्षा लगायतका क्रियाकलाप सञ्चालन गरिनेछ ।
यसैगरी निजी क्षेत्र, तालिम प्रदायक संस्थाहरू तथा नेपाल सरकारका सरोकारवाला निकायहरूबीच निरन्तर समन्वय र सहकार्य प्रवर्द्धन गर्ने र प्राविधिक जनशक्ति उत्पादनका लागि सहज वातावरण सिर्जना गर्न सहयोग पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले उक्त सहकार्यले उद्योगहरुलाई आवश्यक प्राविधिक जनशक्ति विकासमा सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले उद्योगको वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने खालको दक्ष जनशक्ति उत्पादनका लागि निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यले उद्योग र तालिम प्रदायक संस्थाको सम्बन्धलाई व्यवहारिक बनाउन सहयोग पुर्याउने बताए ।
अध्यक्ष राठीले उद्योग प्रतिष्ठानहरूमा आवश्यक प्राविधिक सीप भएका दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गरे । उक्त अभाव पूर्ति गर्न यस सहकार्यले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्दै प्राविधिक तालिम प्राप्त व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गर्ने तथा उद्योगको उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ अगाडि बढ्ने पनि उनले बताए ।
तालिम प्रदायक संस्था र सम्बन्धित सरोकारवाला पक्षहरुका साथ समन्वय गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ गरिएको सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र इन्स्योर हेल्भेटास परियोजनाका टिम लिडर रवीन्द्रबहादुर सिंह, क्वालिटी परियोजनाका भानु पण्डित, एनभीक्यूएसका आनन्द पौडेलले हस्ताक्षर गरेका थिए ।
इन्स्योर परियोजनाको सहकार्यमा विगत ५ वर्षदेखि संगठनले सञ्चालन गर्दै आएको सीप विकास कार्यक्रममा यसपटकदेखि स्विस सरकारका अन्य दुई परियोजनाले पनि सहकार्य गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, मानव संशाधन विकास समिति संयोजक दिपक अग्रवाल र ईन्स्योर परियोजना, एनभीक्यूएस तथा क्वालिटी परियोजनाका प्रतिनिधिहरुको सहभागिता थियो ।
