अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच वासिङ्टनमा भेटवार्ता

अध्यक्ष कान्दाले नेपालमा पछिल्ला राजनीतिक परिवर्तन र सुशासनको अवस्थाबारे चासो व्यक्त गर्दै नेपाल भ्रमणको निमन्त्रणाका लागि धन्यवाद ज्ञापन गरेका थिए । उनले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

Finance Minister Khanal and ADB President meet in Washington

What you should know

काठमाडौँ — नेपालका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अमेरिकी राजधानी वासिङ्टन डीसीमा एशियाली विकास बैंकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन् ।

मन्त्री खनाल हाल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा छन् ।

भेटका क्रममा मन्त्री खनालले एडीबीले दीर्घकालीन रूपमा पूर्वाधार विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालका ठूला आयोजनाहरूमा एडीबीको सहयोग निरन्तर आवश्यक रहेको बताए ।

उनले नेपालको वर्तमान सरकारले निजी क्षेत्रको सुदृढ विकासका लागि लगानीयोग्य वातावरण निर्माणमा प्रतिबद्धता जनाएको पनि जानकारी गराएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

मन्त्री खनालले एडीबीको लगानीमा निर्माण भइरहेका ठूला पूर्वाधार परियोजनाहरू विशेषगरी ऊर्जा, यातायात र सूचना प्रविधि क्षेत्रमा भइरहेको प्रगतिबारे अध्यक्ष कान्दालाई अवगत गराउँदै नेपाल भ्रमणका लागि निमन्त्रणा पनि गरेको विज्ञप्तिमा उल्लेख छ । 

अध्यक्ष कान्दाले नेपालमा पछिल्ला राजनीतिक परिवर्तन र सुशासनको अवस्थाबारे चासो व्यक्त गर्दै नेपाल भ्रमणको निमन्त्रणाका लागि धन्यवाद ज्ञापन गरेका थिए । उनले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् ।

यसै अवसरमा अर्थमन्त्री खनालले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण–पूर्वी एसियाली समूहका गभर्नरहरूको बैठकमा सम्बोधन गर्दै नेपालमा जलविद्युत् र सूचना प्रविधि पूर्वाधारमा लगानी गर्न आह्वान गरेका छन् ।

विकास आयोजनाहरूको कार्यान्वयनमा ढिलाइ भएको विषयमा कुरा गर्दै मन्त्री खनालले विश्व बैंकलाई आयोजनासम्बन्धी मापदण्ड र कार्यविधि थप सरल बनाउन सुझाव दिएका थिए ।

उनले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले बनाउने विश्वव्यापी वित्तीय मापदण्ड कार्यान्वयनका क्रममा देशविशेषका स्थानीय आवश्यकता र सन्दर्भलाई समेत ध्यान दिनुपर्ने औंल्याए । 

भेटवार्ता र बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समेत सहभागी थिए । 

कान्तिपुर

Link copied successfully