लामो प्रतीक्षापछि एकसाथ युरिया र डीएपी भित्रिँदै

कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले भारतको आईपीएल कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्टअन्तर्गत एक सातामा दुई र्‍याकमा गरी ५ हजार टन युरिया मल भित्रिएको छ ।

आश्विन ३०, २०८२

शंकर आचार्य

After a long wait, urea and DAP are entering together

What you should know

पर्सा — लामो समयको प्रतीक्षापछि कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडको युरिया र डीएपी मल सँगसँगै भित्रिन थालेको छ । वीरगन्ज नाकाबाट दुवै संस्थानको युरिया, डीएपी र पोटास मलसमेत भित्रिन थालेको हो ।

कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले भारतको आईपीएल कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्टअन्तर्गत एक सातामा दुई र्‍याकमा गरी ५ हजार टन युरिया मल भित्रिएको छ । दोश्रो रेल्वे र्‍याक कोलकाताबाट मल बोकेर बुधबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो । यो कन्साइन्मेन्टबाट कूल ३० हजार टन युरिया मल भित्रिन लागेकामा त्यसमध्ये ११ हजार ५ सय टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउनेछ ।

यसबाहेक कम्पनीका तीनवटा कन्साइन्मेन्टको डीएपी मल पनि क्रमशः भित्रिरहेको पाण्डेले बताए । आदित्य बिरला कम्पनी आपूर्तिकर्ता रहको एउटा कन्साइन्मेन्टको ३० हजार टन डीएपी, आईपीएल कम्पनी आपूर्तिकर्ता रहेको दोस्रो कन्साइन्मेन्टको २५ हजार टन डीएपी र आईपीएल नै आपूर्तिकर्ता रहेको तेस्रो कन्साइन्मेन्टको २५ हजार टन डीएपी मल पनि भित्रिरहेको पाण्डेले जानकारी दिए ।

यीमध्ये ३० हजार टनको पहिलो कन्साइन्मेन्टको ११ हजार ५ सय टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउनेछ । २५/२५ हजार टनको दोस्रो र तेस्रो कन्साइन्मेन्टको मलमध्ये दुवै कन्साइन्मेन्टबाट ९ हजार ५ सय र ९ हजार ५ सय टन डीएपी मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउनेछ ।

हाल युरिया मलको माग केही कम भए पनि आउँदो गहुँ बाली सिजन तथा मकै, आलु, सुर्ती आदि बालीका लागि भने डीएपी मलको माग उच्च हुने समय रहेको छ ।

यता साल्ट टेड्रिङ कर्पोरेसन लिमिटेडको २५ हजार टन डीएपी मल हाल भित्रिरहेको साल्ट प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेले जानकारी दिए । आईपीएल कम्पनी आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्टको कूल मलमध्ये वीरगन्ज कार्यालयले ६ हजार टन पाउनेछ ।

यस बाहेक १ रेल्वे र्‍याक पोटास मल हालै भित्रिएको लामिछानेले बताए । आईपीएल कम्पनी नै आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्ट अन्तर्गत २ हजार ५ सय टन पोटास भित्रिएको हो ।

आईपीएल कम्पनी नै आपूर्तिकर्ता रहेको २५ हजार टन युरिया मल कात्तिकको अन्तिम सातादेखि नेपाल भित्रिन थाल्ने उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully