जेन-जी आन्दोलनका घाइतेको उपचार र रोजगारीमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्न पाउने

राष्ट्र बैंकले मंगलबार संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन संशोधन गरेर उक्त व्यवस्था गरेको हो । 

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

The bank can spend under social responsibility on the treatment and employment of the injured of Gen-G movement

What you should know

काठमाडौँ — २३ र २४ भदौको आन्दोलनका क्रममा घाइते जेन–जीहरूको उपचारमा खर्च गरेको रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षकमा समावेश गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन संशोधन गरेर उक्त व्यवस्था गरेको हो । 

नयाँ व्यवस्थाअनुसार जेन–जी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च सीएसआर शीर्षकमा समावेश गर्न पाउने छन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले सीएसआरअन्तर्गत खर्च गर्नुपर्ने रकम जेन–जी आन्दोलनमा सहिद भएका व्यक्तिका आयआर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आयआर्जन क्षमता अभिवृद्घि गर्न सहयोग गर्न सक्ने बाटो राष्ट्र बैंकले खोलिदिएको छ ।

‘जेन–जी आन्दोलनमा सहिद भएका व्यक्तिका आयआर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आयआर्जन क्षमता अभिवृद्घि गर्न सहयोग पुर्‍याउन सरकार वा सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्च,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।

अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पटक–पटक बैंक तथा वित्तीय संस्थाले सीएसआरमा खर्च गर्नुपर्ने रकम सरकारको भौतिक संरचना पुनर्निर्माण कोषमा जम्मा गर्न निर्देशन दिन भन्दै आएको थियो । तर, कानुनी रूपमा त्यसो गर्न नमिल्ने भन्दै राष्ट्र बैंकले अर्थको आग्रह मानेको थिएन । अर्थ मन्त्रालयसँग छलफलपछि सीएसआर सम्बन्धी विद्यमान कार्यविधिभित्रै रहेर जेन–जी आन्दोलनका घाइतेको उपचार, उनीहरूका लागि रोजगारी सिर्जनालगायतमा बैंक तथा वित्तीय संस्थाले खर्च गर्न सक्ने र त्यो रकम सीएसआर शीर्षकमा देखाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully