नयाँ व्यवस्थाअनुसार जेन-जी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च सीएसआर शीर्षकमा समावेश गर्न पाउने छन् ।
काठमाडौँ — भदौ २३ को आन्दोलन र २४ गतेको प्रदर्शनका क्रममा घाइते जेन-जीहरुको उपचारमा खर्च गरेको रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) शीर्षकमा समावेश गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले मंगलबार संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन संशोधन गरेर उक्त व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार जेन-जी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च सीएसआर शीर्षकमा समावेश गर्न पाउने छन् ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले सीएसआरअन्तर्गत खर्च गर्नु पर्ने रकम जेन-जी आन्दोलनमा शहीद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आयआर्जन क्षमता अभिवृद्धि गर्न सहयोग गर्न सक्ने बाटो राष्ट्र बैंकले खोलिदिएको छ । ‘जेन-जी आन्दोलनमा शहीद भएका व्यक्तिका, आयआर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आयआर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्च,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।
