रेमिट्यान्स ३३.१ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो साढे ३ खर्ब 

०८२ भदौ महिना मात्र १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Remittance increased by 33.1 percent, 3.5 billion was received in two months

काठमाडौँ — गएको साउन र भदौ महिनामा मात्र रेमिट्यान्समार्फत ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको हो । 

गत आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । 

यस्तै, २०८२ भदौ महिना मात्र १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको भदौ महिनामा १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । 

चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९० हजार १ सय ९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८ सय ८४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ रहेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully