नेपाल नागरिक उड्डयन कार्यालय तुम्लिङटार विमानस्थल प्रशासनले भीआईपी कक्षबाट हुने प्रवेशलाई बन्द गरिदिएको हो।
संखुवासभा — जेन-जी आन्दोलनपछि तुम्लिङटर विमानस्थलले यात्रुलाई बराबर सुविधा हुने गरी भीआईपी कक्ष बन्द गरेको छ । विशिष्ट व्यक्तिका नाममा भीआईपी कक्षमा भीडभाड लाग्ने गर्दा विमानस्थलको सुरक्षामै चुनौती भएको विमानस्थल प्रशासनले जनाउँदै आएको थियो ।
विशेषगरी राजनीतिक दलका नेताहरू भीआईपी कक्षमा आइपुग्ने र उनीहरूका समर्थकहरू पनि नाराबाजी गर्दै भीआईपी कक्षमा प्रवेश गरी होहल्ला गर्ने गरेका थिए। राजनीतिक दलका नेताहरू भीआईपीका रूपमा स्वघोषित हुँदै सोही कक्षबाट छिरेर जहाज चढ्ने र फर्किने गर्दै आएका थिए । तर, सर्वसाधारण यात्रु भने सामान्य यात्रु कक्षबाटै ओहोरदोहोर गर्ने र आफ्नो ‘लगेज’ पर्खिएर लिन बाध्य थिए ।
नेपाल नागरिक उड्डयन कार्यालय तुम्लिङटार विमानस्थल प्रशासनले भीआईपी कक्षबाट हुने प्रवेशलाई बन्द गरिदिएको हो। तुम्लिङटारमा बुद्ध एयरको ७२ सिटे विमानले काठमाडौँ-तुम्लिङटार- काठमाडौँ दैनिक उडान गर्दै आएको छ । विमानस्थलका प्रमुख नवराज दाहालका अनुसार जेनजी प्रदर्शनपछि विमानस्थल प्रशासनले भीआईपी कक्षको अनावश्यक प्रयोगलाई रोकेको जानकारी दिए ।
भीआईपी कक्ष बन्द भएपछि अब सबैले सर्वसाधारण यात्रुसरह यात्रा गर्नुपर्ने बताए । ‘एक जना व्यक्तिलाई लिन दुई तीन सय मान्छे आउने गरेका थिए, जसका कारण विमानस्थलमा हो-हल्लाले भीडभाड हुने गरेको थियो, जुन कुरा सुरक्षाका दृष्टि पनि अनुपयुक्त थियो’ उनले भने, ‘जेनजी आन्दोलनपछि राजनीतिक दलप्रति धेरै नकारात्मक धारणा बनेको देखियो, त्यसैका कारण अहिले विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको छ ।’
