आयोजना बन्द हुँदा दैनिक एक करोड रुपैयाँ घाटा भएको कम्पनीले जनाएको छ ।
काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा सिन्धुपाल्चोकको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना ‘फ्रि’ सेयर मागेका कारण उत्पादन बन्द हुँदा ३२ करोड रुपैयाँ घाटा भएको छ । नि:शुल्क सेयर मागका कारण एक महिना दुई दिन आयोजना बन्द भएको भोटेकोशी पावर कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत बिक्रम रत्न स्थापितले बताए।
‘भदौ २४ यता आयोजना बन्द भयो, दिनमा एक करोड रुपैयाँ घाटा भयो,’ उनले भने । सम्झौतासँगै आयोजना सञ्चालनमा ल्याउने भनिए पनि मर्मतसम्भार र एक महिना बन्द रहेकाले परीक्षण गरेर सोमबारदेखि सञ्चालनमा ल्याइने स्थापितले बताए ।
आइतबार भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट प्रालिलाई १० प्रतिशत सेयर दिने सम्झौता भएको छ । भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट प्रालि र भोटेकोशी पावर कम्पनी प्रालिबीच सम्झौता भएको हो ।
स्थानीय राजनीतिक दलहरूको रोहबरमा भोटेकोशी कम्पनीले २०७१ पुसमा आयोजना प्रभावितलाई ६ प्रतिशत सेयर दिने सम्झौता गरेको थियो । अहिले सोही ६ प्रतिशतमा ४ प्रतिशत थप गरेर १० प्रतिशत कायम गर्ने सम्झौता गरिएको छ ।
भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट प्रालिले आयोजना र प्रसारणलाइन प्रभावितलाई समेटेर आएपछि प्रक्रिया सुरु हुने स्थापितले बताए ।
