यस वर्षको तिहारलाई ४० लाख सयपत्री र साढे ५ लाख मखमली माला

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार तिहारको समयमा मात्रै ४० करोड रुपैयाँ बराबरको फूल कारोबार हुनेछ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

For this year's Tihar, 4 million hundred leaves and 5.5 million velvet garlands

काठमाडौँ — यस वर्षको तिहारमा ४० लाख थान सयपत्री र साढे ५ लाख थान मखमली माला खपत हुने अनुमान गरिएको छ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार, तिहारको समयमा मात्रै ४० करोड रुपैयाँ बराबरको फूल कारोबार हुनेछ। आफ्नो घरका लागि आफैले फूल खेती गर्ने भएकाले, मुख्यत: शहरी क्षेत्रका उपभोक्ताले मात्र माला खरिद गर्ने एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए ।

एशोसिएसनले साढे ५ लाख थान मखमली मालामध्ये २ लाख थान निर्यात हुने जनाएको छ। सयपत्री मालाकाे होलसेल मूल्य ८० देखि ८५ रुपैयाँ हुनेछ । मखमली मालाकाे होलसेल मूल्य भने ४० देखि ४५ रुपैयाँसम्म पर्ने उनले बताए। उपभोक्ताहरूका लागि ३ फिटका सयपत्री मालाको मूल्य १२० देखि १२५ रुपैयाँसम्म र मखमली माला ६५ रुपैयाँसम्म पर्ने जानकारी दिइएको छ।

विगत दुई वर्षदेखि भारतबाट औपचारिक रूपमा फूलमाला आयात नगरेको भए पनि आन्तरिक उत्पादन मात्रै उपलब्ध भएको बताइएको छ। यद्यपि, खुल्ला नाका रहेकोले लुकीछिपी भारतबाट माला आउने सम्भावनामा सचेत रहनुपर्ने कुरा पनि श्रेष्ठले उल्लेख गरे।

कान्तिपुर

Link copied successfully