भदौमा घरजग्गा कारोबारबाट सवा ३ करोड मात्र राजस्व

साउनयता कित्तागत विवरण नगरिएका पाँच सय पालिकामा कित्ताकाट ठप्प, जसले घटायो घरजग्गा कारोबार

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Only 3.5 million revenue from real estate business in August

What you should know

काठमाडौँ — सरकारले चालु आर्थिक वर्षको भदौमा मात्रै घरजग्गा कारोबारबाट ३ करोड १५ लाख रुपैयाँ राजस्व उठाएको छ । साउनमा घरजग्गा कारोबारबाट ३ करोड २८ लाख रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

साउनयता कित्तागत विवरण नगरिएका पाँच सय पालिकामा कित्ताकाट ठप्प छ । त्यसकारण पनि घरजग्गा कारोबार घटेको व्यवसायी बताउँछन् ।

आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको छ । जब कि आर्थिक वर्ष २०८१/८२ को साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ । आर्थिक वर्ष अन्त्य हुने भएकाले असारयता घरजग्गा कारोबारका लागि ‘अफ सिजन’ मानिन्छ । जेन–जी आन्दोलन, कित्ताकाट राकिँदा घरजग्गा कारोबार घटेको नेपाल घरजग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष भेषराज लोहनीले जनाए । 

‘भदौ घरजग्गा कारोबारका लागि बेमौसम हो, त्यसमाथी महिनाको अन्तिममा जेन–जी आन्दोलन पनि भयो, त्यसको असर पनि यसमा परेको हो,’ उनले भने, ‘साउनयता प्रायः पालिकामा कित्ताकाट रोकिएको छ । त्यसको पनि असर हो ।’ महासंघले कित्ताकाट खुलाउन पहल गरिरहे पनि मुर्त रुप लिन नसकेको लोहनीको भनाइ छ । 

भदौमा २७ हजार ४ सय ४९४ वटा कारोबारको नयाँ लिखत पारित भएको विभागको तथ्यांक छ । यस्तै १३ हजार ६ सय ९१ वटा कित्ताकाटको नयाँ लिखत पारित भएको विभागले जनाएको छ । यसबाट भदौमा मात्रै ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार २ सय ५३ पालिकामा कित्तागत रूपमै वर्गीकरण भइसकेको छ । तर ५ सय पालिका वर्गीकरणका विभिन्न चरणमा रहेको मन्त्रालयले जनाएको छ । त्यसकारण ५ सय पालिकामा मात्रै कित्ताकाट रोकिएको सरकारी बुझाइ छ । ५ सय पालिकामा कित्ताकाट ठप्प हुँदा घरजग्गा कारोबारदेखि राजस्वसमेत घटेको भूमि मन्त्रालयका प्रवक्ता गणेश भट्ट स्विकार्छन् । कित्तागत वर्गीकरण नभएका सबै पालिकामा रोकिएको उनको भनाइ छ ।

कित्ताकाट खुलाउन भूउपयोग नियमावली, २०७९ (तेस्रो पटक) संशोधनका लागि राय परामर्शका कानुन मन्त्रालयमा पठाइएको भट्टले बताए । ‘कानुन मन्त्रालयबाट फिर्ता आएपछि मन्त्रिपरिषद्मा पेस हुन्छ,’ उनले भने, ‘अन्तरिम सरकार बनिसकेपछि दसैंअघि नै हामीले मन्त्रालयमा पठाइसकेका छौं ।’

‘वर्गीकरण नगरे पनि अंशबन्डा, अंश भर्पाईलगायतमा यसअघि कुनै असर पर्दैनथ्यो । तर यस वर्ष जग्गाको न्यूनतम मूल्यांकन निर्धारण गर्दा कृषि, आवास, औद्योगिकअनुसार तोकिएको छ,’ उनले भने, ‘जग्गाको वर्गीकरणअनुसार न्यूनतम मूल्यांकन निर्धारण गर्दा अंशबन्डा, अंश भर्पाईलगायतमा समेत समस्या भयो । न्यूनतम मूल्यांकन केलाई मान्ने भन्ने कारणले यसपालि वर्गीकरण नगरेका ठाउँमा अंशबन्डा, अंश भर्पाईलगायतको काम ठप्प भएको छ ।’ कित्तागत विवरणसहित वर्गीकरण भइसकेका पालिकामा कुनै पनि किसिमको घरजग्गा कारोबार ठप्प नभएको भट्टले जनाए । 

पालिकाले समयमै वर्गीकरण नगरिदिँदा कित्ताकाट खुलाउनकै लागि सरकारले दुई पटक भूउपयोग नियमावली, २०७९ संशोधन गरिसकेको छ । २०८१ भदौ सुरुदेखि नै ६ सय २० पालिकामा कित्ताकाटलगायत जग्गा प्रशासनसम्बन्धी काम रोकिएको थियो । त्यति बेला १ सय ३३ पालिकाले मात्रै पूर्ण जग्गा वर्गीकरण गरेका थिए । लगत्तै २०८१ भदौ २७ मा भूउपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असारसम्म समय दिइएको थियो । २०८२ असारसम्म २ सय ५३ पालिकाले मात्रै पूर्ण वर्गीकरण गर्दा ५ सय पालिकामा कित्ताकाट ठप्प भएको मन्त्रालयले जनाएको छ ।

२०७९ जेठमा नियमावली जारी हुँदा ६ महिनाभित्र चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने थियो । २०७९ मंसिरसम्म केही पालिकाले मात्रै कृषि क्षेत्र छुट्याएका थिए । २०७९ मंसिरपछि जग्गालाई १० वटै क्षेत्रमा वर्गीकरण गर्नुपर्ने थियो । तर धेरैजसो पालिकाले जग्गाको वर्गीकरण नगरेपछि २०८० साउन ३२ मा नियमावलीको संशोधन गर्दै एक वर्षभित्र चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरिएको थियो । 

नियमावलीको पहिलो संशोधनबाट आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म र कृषि जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरिएको थियो । यसअघि आवासीय जग्गा १ सय ३० वर्ग मिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैनथ्यो । कृषि जमिनको सन्दर्भमा उपत्यकामा ५ सय वर्गमिटर, तराई र भित्री मधेशमा ६ सय ७५ वर्गमिटर क्षेत्रफलभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।

सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवासीय र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड छन् । व्यावसायिक आवासका लागि स्थानीय सडकको मापदण्ड पूरा भएको हुनुपर्ने नियमावलीमा छ । पहिलो संशोधनबाट एक वर्ष अवधि थप गर्दा पनि पालिकाले वर्गीकरण नगरेपछि मन्त्रालयले २०८१ भदौमा दोस्रो पटक नियमावली संशोधन गरेको थियो ।

जग्गा वर्गीकरणकै लागि दुई पटक नियमावली संशोधन गरेर समय थप्दासमेत ५ सय पालिकाले जग्गा वर्गीकरण गरेका छैनन् । दोस्रो पटक नियमावली संशोधन गर्दा नै कानुन मन्त्रालयले अब संशोधन नगर्न भूमि मन्त्रालयलाई भनिसकेको थियो । तर भूमि मन्त्रालयले फेरि नियमावली संशोधनका लागि छलफल चलाइरहेकाले अब कानुन मन्त्रालयले सहमति दिन्छ कि दिँदैन भन्ने पनि प्रश्न उब्जिएको कानुन मन्त्रालयका एक अधिकारीले बताए । तर भूमि मन्त्रालयका प्रवक्ता भट्टले नियमावली संशोधनका लागि छलफल मात्रै सुरु भएको दाबी गरे ।

भूउपयोग ऐन, २०७६ आएको ३ वर्षपछि सरकारले २०७९ जेठ २३ मा नियमावली जारी गर्दै सरकारले जग्गाको वर्गीकरण सुरु गरेको थियो । भूउपयोग ऐन, २०७६ मा सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भूउपयोग परिषद्ले जमिनको वर्गीकरण र भूउपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ ।

कान्तिपुर

Link copied successfully